मौसम परिवर्तनसँगै कोरोनाका बिरामी बढे, सातामै २८ जना संक्रमित

Advertisement

काठमाडौं । कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

Advertisement

सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । 

‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।’

निर्देशक डा बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन् । 

अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनको भनाइ छ । 

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए । । 

‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन्,’ उनले भने, ‘तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’ 

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । 

Advertisement