पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा पर्यटन व्यवसायी आजित

Advertisement

काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्रका समस्या सम्बोन्धन नसकेको बताउँदै मन्त्रीलाई कम्तिमा पाँच बर्ष र सचिवलाई कम्तिमा दुई बर्ष काम गर्न दियो भने मात्रै समस्या समाधान गर्न सहज हुने बताए । 

Advertisement

नयाँ मन्त्री र सचिव आउनासाथै पर्यटन क्षेत्रका समस्या उनीहरुलाई बुझाउँदा नै आफूहरु आजित भएको उनले बताए । बाँस्तोलाले भने, मन्त्री र सचिव जति सकिन्छ लामो समय पदमा बसेदेखि काम गर्न धेरै सजिलो हुन्थ्यो । तर यहाँ त कतिबेला कुन मन्त्री र सचिव आउने हो ? कतिबेला फेरिने हो ? टुँगै छैन् । नयाँ आउनेलाई समस्या सुरुदेखि बुझाउनुपर्ने हुन्छ । कतिपय त केही बुझ्ने पनि हुन्छन् । कसैलाई बुझाउन पनि महिनौं लाग्छ ।’ 

नेपालमा तीन–चार महिना नहुदै मन्त्री र सचिव सरुवा हुँदा पर्यटन व्यवसायी शिक्षक जस्तो भएको  भन्दै उनले थपे, ‘नयाँ मन्त्री, सचिव आउनुहुन्छ । उहाँँहरुलाई पढाउने मात्र काम भयो हाम्रो । बुझायो–बुझायो, अब चाहिँ होला कि भन्यो, हुने बेलामा मन्त्री सचिव नै सरुवा हुन्छ । हाम्रो टिम्सको एमओयू गर्न सकिएन । त्यो गर्न नसक्नुको कारण भनेको नेपाल पर्यटन बोर्डका सदस्यहरुको पनि कार्यकाल सक्यो । सचिव नयाँ आउनुभयो । उहाँलाई हामीले बुझाउनै सकेका छैनौं । अब फेरि पर्यटन मन्त्री पनि फेरिनुभयो ।’ 

अध्यक्ष बाँस्तोलाले नयाँ मन्त्री आएपछि पनि आफ्नो अनुकुलको सचिव खोज्ने, अध्ययन गर्ने, ‘बुझ्नुपर्छ’ भन्ने नाममा निर्णय नगरी महिनौं बिताइदिने प्रवृत्ति रहेको बताए । देशको परिस्थितिले मन्त्री चाँडै चाँडै फेरिए पनि कम्तिमा कर्मचारीहरु नफेरिदिए र पर्यटन क्षेत्र बुझेका कर्मचारीहरुलाई मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यसमातहतका निकायमा राखिदिए धेरै राहत हुने बताए । 

होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले मन्त्री र सचिव फेरिए पनि मन्त्रालयका राम्रा कार्यक्रम र योजना फेरिन नहुने बताए । उनले भने, ‘मन्त्री र सचिवले राम्रो कामलाई निरन्तरता दिनुपर्छ । नमिलेको कुराहरु मन्त्रीले आफ्नो किसिमले मिलाउनुपर्छ । जुन मन्त्री आए पनि काम राम्रो होस् भन्ने हाम्रो अपेक्षा हो । जुन कार्यक्रमले पर्यटन क्षेत्रलाई विकास गराउँछ । देशको अर्थतन्त्रलाई सहयोग पुर्याउँछ, त्यस्ता कार्यक्रमलाई छोड्नुहुँदैन् । तर हाम्रो देशमा अगाडिको मन्त्रीले गरेका काम केही पनि नगर्ने चलन छ । त्यो राम्रो होइन ।’ 

शाहले थपे, ‘जो मन्त्री आए पनि राम्रै गरौं भनेर आउने हुन् । जुन काम राम्रो भइरहेको छ, त्यो कामलाई रोक्नु जरुरी नै छैन् ।’ आफूहरुले प्रधानमन्त्री, पर्यटनमन्त्री, पर्यटन सचिवलाईलाई पटक पटक भेट्दा नेपालमा धेरै होटल निर्माण भइसकेले १० लाख पर्यटक आएर पुग्दैन भन्दै आएको तर सरकारले सो कुरालाई सुनुवाई नगरेको गुनासो गरे । 

शाहले भने, ‘मन्त्री, सचिव, प्रधानमन्त्रीले कति वटा कार्यक्रममा पहिलाकै स्तरमा १० लाख पर्यटक आए भनेर खुशी प्रकट गरेको देखियो । वास्तवमा यो खुशी हुने विषय नै होइन् । होटल तथा रिसोर्टहरु ठूलो लगानीसहित जुन संख्यामा खुलेका छन्, त्योअनुसार त ३०–३५ लाख पर्यटन भित्राउन सक्नुपर्ने हो । दश लाख निकै न्यून संख्या हो अहिलेको हिसाबमा । 

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेकोले पनि अब पर्यटन भित्राउन सरकारले अनुकुल वातावरण र नीति निर्माण गर्नुपर्ने उनको भनाई छ । शाहले विमानस्थलहरु निर्माण भइसकेपछि खासगरी भारत र चीनबाट धेरै पर्यटक नेपालमा ल्याउन सकिने संभावनाका आधारमा निजी क्षेत्रको होटलमा निकै ठूलो लगानी भएको बताउँदै भने, ‘सरकारले २०२३–३२ लाई पर्यटन दशक घोषण गर्यो । अहिलेसम्म सो कार्यक्रम सुरु हुन सकेको छैन् । हुने हो कि होइन् ? थाहा छेन् । नयाँ मन्त्री आउनुभएको छ । उहाँले के गर्ने हो ? कार्यक्रम घोषणा गरेर मात्रै के गर्नु ? कार्यान्वयन भएन् भने ।’ 

अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड अहिले सुतेर बसेको बताए । अहिले बोर्डमा सीर्इओ समेत नरहेको, नयाँ नियुक्तिका लागि पहल समेत नभएको भन्दै पर्यटन क्षेत्र पर्यटन ऐन, २०३५ बाट सञ्चालित हुनुपरेको बताए । नयाँ पर्यटन एेनको मस्यौदा तयार भएको कुरा सनेको धेरै बर्ष भए पनि अहिलेसम्म छलफल गरेर टुंग्याउने काम हुन नसकको उनले बताए । 

शाहले भने, ‘पर्यटन क्षेत्रलाई उद्योगको मान्यता हुन्छ भनेर योभन्दा अगाडिको मन्त्रीबाट धेरै काम भएको थियो । तर निर्णय हुन सकेन् । नयाँ मन्त्री आउनु भएको छ । अब काम कसरी अगाडि बढ्छ ? हेर्न बाँकी छ । खर्बौं रुपियाँ लगानी भएको, लाखौंले रोजगारी पाएको, देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नसक्ने क्षेत्रलाई उद्योगको मान्यता दिन आनाकानी गर्नुको अर्थ आफूहरुले बुझ्न नसकेको बताए ।   

नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले एउटै पर्यटन नीति बनादिन प्रधानमन्त्रीदेखि पर्यटनसम्वद्ध निकायसँग आग्रह गर्दै आए पनि बेवास्ता गरिएको गुनासो गरे । त्यस्तो नीति भयो भने त्यसले सबैलाई दिशानिर्देश गर्ने उनले बताए । 

पाण्डेले पर्यटन बुझ्न थालेपछि पर्यटन मन्त्री नै हटाइदिने परिस्थिति नेपालमा रहेको बताए । उनले पर्यटन बुझेको मन्त्री र सचिव भइदियो भने काम गर्न निकै सहज हुन्थ्यो भन्दै पाण्डेले भने, ‘पदयात्रा, हिमाल आरोहण चाहिँ हाम्रो जीवनशैलीसँग जोडिएको व्यवसाय पर्यो । त्यस कारण हिमाली पर्यटन प्रवर्द्धनको पनि मुख्य भूमिका छ । अहिले नेपालमा विदेश पलयान र बसाइसराइको वातावरण बन्दै छ । माउन्टेन टुरिजम बचाउन धेरै कुराहरुको चुनौती छ । तर ती सबै चुनौतीहरुलाई समाधान गर्न राम्रो नीति बनाउन सके राम्रो हो ।’ 

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले कम्तिमा एउटा बजेट कार्यान्वयनसम्म मन्त्री र सचिव रहने हो भने पनि धेरै काम गर्न सकिन्थ्यो भने । उनले भने, ‘हाम्रो काम भनेको मन्त्री र सचिव भेटने, हाम्रो दुःख सुनाउनेबाहेक काम केही पनि देखिएन । अहिले राफ्टिङ कै कुरा गर्ने हो भने दुई दर्शकसम्म राफ्टिङ घटेर १० प्रतिशत पर्यटक पनि छैन् । त्यसको प्रवर्द्धन गर्ने निकाय सुतेर बसेको छ ।’ 

अधिकारीले नेपालको नीतिभन्दा पनि व्यक्ति र प्रवृत्ति खराब रहेको बताए । उनले थपे, ‘चाहयो भने सबै काम हुन्छ । कुनै नियम कानुनले रोक्दैन् । काम चाहिँ केही नगर्ने, जिम्मेवारी लिन नपर्ने, नीति नियम देखाउने । यो कारणले भएन ।’ मन्त्रीहरुले र सचिवहरुले सक्रिय भएर साच्चिकै काम गर्यो भने छ महिनामा नै ठूलो संख्यामा पर्यटकहरु नेपाल ल्याउन सम्भव रहेको अधिकारीले बताए । 

लामो समय लगाएर कुरो बुझाएपछि सुदन किराती पर्यटन ऐन संशोधन गर्न लागेको, बेला उनलाई हटाएर नयाँ मन्त्री ल्याइएको, नयाँलाई पनि कुरा बुझाउन अर्को सात–आठ महिना लाग्ने बताउँदै उनले कुरा बुझ्न थालेपछि संभवतः अहिलेका मन्त्री पनि हट्ने बताए । 

अध्यक्ष अधिकारीले नेपालमा १० लाख पर्यटक आउनु केही पनि होइन भन्दै यो तथ्यांकबाट निजी क्षेत्र खुःसी नरहेको बताए । उनले भने, ‘हाम्रा होटलहरुमै करिब ३५ लाख पर्यटक राख्न सक्ने क्षमता भइसक्यो । राफ्टिङ कै कुरा गर्ने हो भने २० लाखभन्दा बढी रिभर क्याम्पहरु बनिसक्यो र २० लाख भन्दा बढी मान्छे बस्ने व्यवस्था बनाइसकेको छ । त्यो हिसाबले ५५–६० लाख पर्यटकलाई वर्षमा हामीले सेवा दिन सक्ने भइसक्यौं ।’ 

Advertisement