निरन्तर घट्दै वाणिज्य बैंकको आधार दर, सस्तिदै कर्जाको व्याजदर

Advertisement

काठमाडौं । कर्जाको माग न्यून भएर बैंकहरुले व्याजदर घटाउँदा आधारदर (बेसरेट) पनि निरन्तर कम हुँदै आएको छ । फागुनमसान्तसम्म आउँदा २० बाणिज्य बैंकको औसत आधार दर ८.७७ प्रतिशतमा सीमित भएको छ ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । संघकाअनुसार गत भदौसम्म वाणिज्य बैंकहरुको औसत आधार दर १० प्रतिशत माथि थियो । तर, असोजदेखि बाणिज्य बैंकको आधार दर निरन्तर कम घट्दै आएको छ । फलस्वरुप बैंकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर पनि सस्तो हुँदै आएको छ । 

Advertisement

बैंकहरुले आधार दरमा सामान्यत ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको व्याजदर निर्धारण गर्दै आएका छन् । त्यो अवस्थामा आधार दर कम हुँदा व्याजदर पनि कम हुने गर्छ ।

कोरोना लगत्तै देखिएको लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर बढाएका थिए । निक्षेपको व्याजदर बढाउँदा आधार दर बढेर कर्जाको व्याजदर समेत बढेको थियो । 

अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने न्यून छ । त्यसपछि बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै आएका छन् । त्यसपछि आधारदर कम हुँदै गएको हो । अब बैंकबाट सस्तो व्याजदरमा ऋण पाउन सकिने जानकारहरु बताउँछन् । 

निक्षेपको (कोष) लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र संचालन लागत प्रतिशतको आधारमा बेसरेट गणना गरिन्छ । बैंकहरुले हरेक महिना आधार दर गणना गर्नुपर्ने नीतिगत व्यवस्था  छ । 

चालु आवको चैत १६ गते सम्म बाणिज्य बैंकको निक्षेप ८.७८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बाणिज्य बैंकहरुमा ५० खर्ब ४६ अर्ब रुपियाँ निक्षेप थियो, अहिले त्यो ५४ खर्ब ८९ अर्ब रुपियाँ पुगेको छ । 

कर्जा प्रवाह भने ४.१७ प्रतिशतले मात्रै बढेको छ । गत आवको असार मसान्त सम्म बाणिज्य बैंकहरुले ४३ खर्ब १८ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए, चैत १६ गतेसम्म आउँदा त्यो ४४ अर्ब ९८ करोड रुपियाँ पुगेको छ । उक्त तथ्यांकले बाणिज्य बैंकहरुको कर्जा प्रवाह आवश्यकताअनुरुप बढ्न सकेको देखिन्न । त्यसले गर्दा बाणिज्य बैंकहरु व्याजदर घटाउन बाध्य भइरहेका छन् । 

undefined

Advertisement

Advertisement