स्थानीय तहको पैसा गणना गर्न नपाएपछि बैंकिङ प्रणालीबाट ९६ अर्ब निक्षेप गायब !

Advertisement

काठमाडौं ।  बैंकिङ प्रणालीबाट एकै दिनमा ९२ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ । गत मंगलबार बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपबाट ९२ अर्ब रुपियाँ रकम घटेको हो । 

सोमबारसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ९९ अर्ब रुपियाँ निक्षेप थियो । मंगलबार त्यो ६१ खर्ब ७ अर्ब रुपियाँमा सीमित भएको छ । 

Advertisement

बिशेषगरी स्थानीय तहको सञ्चित कोषमा भएको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाएपछि निक्षेप घटेको थियो । उक्त सुविधाका कारण बैंकहरुमा ९६ अर्ब रुपियाँ निक्षेप कायम भएको थियो । तर, यसै साता सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना नगर्न नदिने निर्णय गरेको छ । त्यसपछि बैकिङ प्रणालीबाट ९६ अर्ब रुपियाँ निक्षेप बाहिरीएको छ । तर, उक्त रकम बाहिरीएकै दिन नियमीत निक्षेप थपिएदाँ ९२ अर्ब रुपियाँ मात्रै घटेको देखिएको हो । 

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप मात्रै ९१ अर्ब रुपियाँले घटेको छ ।सोमबारसम्म बाणिज्य बैंकमा ५४ खर्ब ८५ अर्ब निक्षेप थियो । मंगलबार त्यो ५३ खर्ब ९४ अर्ब रुपियाँमा सिमित भएको छ । स्थानीय तहको अधिकांश पैसा बाणिज्य बैंकहरुले नै निक्षेपमा राखेका थिए । 

झण्डै एक खर्ब हारहारीको निक्षेप बाहिरिएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात पनि बढेको छ । मंगलबार कर्जा निक्षेप अनुपात ८०.८६ प्रतिशत कायम भएको छ । त्यसअघि कर्जा निक्षेप अनुपात ७९.६९ प्रतिशत थियो ।

बैंकहरुलाई तरलता व्यवस्थापनमा सहजता दिने उद्देश्यले सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेको थियो । बैंकहरुले निःशुल्क रुपमा त्यो पैसा निक्षेपमा राखेका थिए । यो पैसाले बैंकहरुलाई अनिवार्य मौज्याद कायम गर्न सहज भएको थियो । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने बढेको छैन । बैंकहरुमा अधिक तरलता भएको अवस्थ छ । 

बैंकहरुमा तरलता सहज भएका कारण उक्त सुविधा हटाइएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

Advertisement