जनतालाई विद्युत निर्यातको सपना, तर साढे तीन महिनामै आठ अर्ब २६ करोडको विद्युत् आयात

Advertisement

काठमाडौं । नेपालले साढे तीन महिनामै भारतबाट आठ अर्ब २६ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । 

राष्ट्र बैंकले यसलाई चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनासम्मको तथ्यांकमा समावेश गरेको छ । यो गत आवको सोही अवधीको तुलनामा झण्डै १४ प्रतिशतले कम हो । 

Advertisement

गत आवको फागुन मसान्तसम्म नौ अर्ब ५८ करोड ८७ लाख रुपियाँको विद्युत् आयात भएको थियो । गत बर्ष धेरै विद्युत आयात भएकाले नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकहरुलाई चर्को लोडसेडिङ गरेर आयात कम गर्ने प्रयास गरेको छ । पछिल्ला दिनमा प्राधिकरणले बक्यौता नतिर्ने पालिकाभित्र सडक बत्तिको लाइन पनि काट्न थालेको छ । 

नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरु छन् । बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिए पनि सुख्खा याममा भने सीमित मात्रामा मात्रै विद्युत उत्पादन हुनसक्छ । 

आन्तरिक मागलाई पूर्ति गर्नेगरी पर्याप्त मात्रामा जलविद्युत आयोजनाहरु (खासगरी जलाशययुक्त) निर्माण हुन नसक्दा सरकारले यो समयमा आयात गर्न बाध्य छ । नेपाल जलस्रोतमा धनी र उर्जाको अपार संभावना रहेको भन्दै सरकारले जनतालाई बिजुली निर्यात गरेर धनी हुने सपना बाँड्दै आएको छ । त न सोअनुसार निर्यात गर्नसक्नेगरी विद्युत उत्पादन हुन सकेको छ, न त छिमेकी भारतले नेपालको बिजुली सहजै उचित मूल्यमा किन्ने आधार नै देखिन्छ । बर्खामा विद्युत उत्पादन मागभन्दा बढी हुने भए पनि चिनियाँ लगानी रहेको र चिनियाँ निर्माण कम्पनीले बनाएको आयोजनाको बिजुली नकिन्ने भारतको शर्तका कारण बिजुली खेर फाल्नुपर्ने अवस्था छ । 

यसपाली हिउँदमा मंसिर २१ गतेदेखि विद्युत् आयात सुरु भएको थियो । भारतले राती विद्युत किन्न नदिएपछि चैत १९ गते यता भने दिउँसो मात्रै विद्युत् आयात भइरहेको छ । फलस्वरुप रातीको समयमा औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङ समेत छ । 

यद्यपि, आगामी जेठ÷असारदेखि नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुग्ने प्राधिकरणको दावी छ । गर्मीका कारण हिउँ पग्लेर खोलामा पानीको सतह बढ्ने र त्यसले विद्युत् उत्पादन बढाउन सहयोग गर्ने र निर्यातको अवस्था बन्ने उसको भनाई छ । नेपालमा अहिले विद्युत्को जडित क्षमता तीन हजार ३८ मेगावाट छ । 

असारसम्म पुग्दा त्यो झण्डै ३ हजार ३ सय मेगावाट पुग्नेछ । तर, स्वदेशी विद्युत्को माग भने दुई हजार मेगावाट हारहारी पुग्नेछ । त्यस बाहेकको बिजुली भारतीय बजारमामा बिक्री गर्नुपर्छ ।

चालु आवको साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपियाँको विद्युत् भारतीय बजारमा निर्यात भएको थियो । जेठदेखि मंसिर २० गतेसम्म गरेर भने १५ अर्ब २३ करोड ८० लाख रुपियाँको विद्युत् निर्यात भएको थियो । तर निर्यातको तुलनामा आयात पनि उच्च भएर संस्थाको वासलात नोक्सानमा जाने अवस्था भएपछि प्राधिकरणले आयात कम गर्ने उपाय रोजेको हो । 

Advertisement

Advertisement