आव २०८०–८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै बढ्ने एडीबीको प्रक्षेपण

Advertisement

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०–८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको एशियाली विकास बैंक (एडीबी)ले जनाएको छ । 

बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको एडीबीको प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा)ले वृद्धि हुने प्रक्षेपण गरेको हो । 

Advertisement

यो गत आर्थिक वर्ष २०७९–८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ । 

सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीब्रता र आर्थिक वर्ष २०८०–८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ । 

कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९–८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ ।

नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९–८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महिनामा बचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०–८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०–८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । 

प्रतिवेदन सार्वजनिक गर्दै एडीबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । 

खड्काले उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको बताए । उनले कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको खड्काको भनाई छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको उनले बताए । 

अहिलेसम्म एडीबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ भने सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ । विशेषगरी मेलम्ची खानेपानी आयोजनामा आफ्नो अध्ययन र निर्माण असफल भएपछि एडीबी धेरै विवादमा परेको छ । 

Advertisement

Advertisement