नयाँ वर्ष २०८१ कस्तो होला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त

नयाँ वर्ष २०८१ शनिबार आरम्भ हुने छ । तिथिका हिसाबले यस नयाँ वर्षको आरम्भ चैत्र शुक्ल रहेको छ । यस वर्ष राजका रुपमा मंगल रहेका छन् भने मन्त्रीका रुपमा शनि रहेका छन् । असाध्यै कडा प्रकृतिका क्रूर ग्रहहरूको परस्पर उर्जा टकरावको प्रभावले नयाँ वर्ष २०८१ मा शक्ति संघर्षको अवस्था थप चर्किने छ ।

Advertisement

राजनीतिक हिसाबले यस वर्ष विश्वमा युद्धको क्रम अझ बढ्ने देखिन्छ । हिंसात्मक र क्रूरताको मात्रामा वृद्धि हुने छ । कूटनीतिक सम्बन्धहरूमा तिक्तता आउने र यसले केही बलिया राष्ट्रहरू संघर्षको तानातानबाट अघि बढ्ने छन् । पेट्रोलियम पदार्थको भाउको दबाब कायम रहने छ । राष्ट्र प्रमुख र सरकार प्रमुखका बीचमा एक खालको खाडल देखा परि यसले राजनीतिक संघर्षको अवस्था निम्त्याउने छ । जसरी पनि राजनीतिक पावर लिनै पर्ने होडबाजी देखिने छ । 

विश्वमा द्वन्द्वात्मक अवस्था चर्किने तथा बल प्रयोगका लागि सेना परिचालन तथा हतियारबद्ध गतिविधिहरुको सक्रियता बढ्ने छ । आपराधिक गतिविधिमा तीव्रता आउने छ । सेनाको दबदबा र हतियारको प्रभावको बल बढ्ने छ । हतियारको व्यापारमा तिब्रता आउने छ भने हत्या हिंसा जस्ता खुन खरावाका क्रममा तीब्रता आउने छ । कतिपय देशमा सेनाले सत्ता हत्याउने क्रम यस बर्ष हुने छ । राजनीतिक आरोप प्रत्यारोपको क्रममा बृद्धि हुने छ भने राजनेताको बोली हल्का बन्ने हुँदा विश्वासको अभाव हुन जाने छ ।

यस बर्ष पनि व्यापार व्यवसायको क्रम सुस्त गतिमा नै अघि बढ्ने छ । फेसन डिजाइनिङ्ग, सौन्दर्य प्रशाधन, यौनसँग सम्बन्धी सामान, गर्भधारणसम्बन्धी सामान र यसको व्यवसाय, मधुमेह, यौन रोग र यस सम्बन्धी औषधी लगायतका क्षेत्रको व्यापार भने सन्तोषजनक रहने छ । घर घडेरी तथा रियल स्टेटको व्यापार माथि उठ्न सक्ने छैन् । शेयर बजार औसत अवस्थाबाट अघि बढ्ने छ । सुन चाँदीको भाउ बृद्धि हुने छ भने यसको व्यापारमा पनि बृद्धि हुने छ । मानिसहरुमा उपभोगवादी विचारले प्रधानता पाउने छ । 

शैक्षिक क्षेत्रको व्यापार, शैक्षिक सामग्रीको कारोवार आदीमा बृद्धि हुने छ । विशेषगरी अध्ययनका लागि विदेशीनेहरुको संख्यामा उच्च बृद्धि हुने छ । वैदेशिक रोजगारीका लागि नेपाल र नेपाल जस्ता देशबाट विकसित देशहरुमा जाने क्रममा बृद्धि देखिने छ । आप्रवासनको क्रममा तिब्रता आउने छ । सर्वसाधारणमा मानसिक दबाद र तनावको अवस्थामा भारी बृद्धि हुने छ । हिंसात्मक सोच बढ्ने र यसले समाजमा शान्तिपूर्ण माध्यम भन्दा भनाभन तथा कडापनाको मात्राले स्थान पाउने छ । 

यस वर्ष रोगव्याधीको क्रम बढ्ने छ भने विशेषगरी हृदय, मुटु, रक्त तथा मांसपेशी तथा क्यान्सर जस्ता रोगव्याधीले पीडित बन्ने स्थिति रहने छ । मानसिक रोग, डिप्रेसन, एन्जाइटी, चिटचिटाहट, अस्थिरताको अनुभूति जस्ता मानसिक अवस्थाले सर्वसाधारण पीडित बन्ने छन् । दाम्पत्य जीवनमा कलह आदीले पारपाचुकेका क्रममा यस बर्ष थप बृद्धि हुने देखिन्छ । छालाजन्य एलर्जी तथा रोग व्याधीबाट ग्रसित हुने अवस्था बढ्ने छ ।

सूचना प्रविधि, खोज अनुसन्धान, वैज्ञानिक खोज, सवारीसाधन क्षेत्रमा नवप्रवद्र्धन जस्ता क्षेत्रमा नयाँ नयाँ खोज हुने छ । यस क्षेत्रको आर्थिक गतिबिधीमा तिब्रता आउने छ । व्यक्तिहरुमा धार्मिक तथा आध्यात्मिक क्षेत्र प्रतिको आस्थामा केही बृद्धि हुने छ । धार्मिक कार्यक्रममा तिब्रता आउने छ भने दान दातव्यका क्रममा केही सकारात्मक सोच आउन जाने छ । तर धार्मिक कट्टरतामा भने केही अस्वाभाविक तिब्रता आउने छ । बौद्धिक क्षेत्रमा चलायमान आउने छ तर उक्त क्षेत्रको निष्ठामा भने कमि नै रहने छ । खोज अनुसन्धानका क्षेत्रमा प्रगति हुने छ ।

सर्वसाधारण आर्थिक कठिनाई र असन्तुलनबाट गुज्रने छन् । रोजगारी गुम्ने डर र जीवन जीउने संघर्षको दबाबमा धेरैको जीवन कठिनाईको चक्रबाट गुज्रने संख्या बढ्ने छ । उद्योग व्यवसाय क्षेत्रमा पनि मन्दिको अवस्था विद्यमान रहने छ । 

गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement