राजनीतिक स्थिरताले विकास हुन्छ भन्ने कुरा चीन र भारतबाट हामीले सिकौंः पूर्वअर्थमन्त्री लोहनी

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने राजनीतिक नेतृत्व अहिले आवश्यक रहेको बताएका छन् । 

आईतवार स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रममा उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताएका हुन् । 

Advertisement

उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताउँदै लोहनीले राजनीतिक स्थिरता देशको आर्थिक विकासका लागि आवश्यक भएको बताए । 

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक छ । त्यो संस्कृतिको आवश्यक छ । एकातिर चीन छ, एकातिर भारत छ, यो दुई वटा देशमा तीन कुराको समानता छ । एउटा समानता यो दुई वटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले नेतृत्व लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ । अब हाम्रो दिन आयो भन्ने परेको छ, भारतीयहरुमा ।’

लोहनीले थपे, ‘चीन आफैँ पनि विश्व शक्ति भयौँ भनेर आएको छ । राजनीतिक स्थिरता भएको देश छ । दुई देशमै राजनीतिक स्थिरता छ । दुवै देशमा आर्थिक विकास तीब्र गतिले भएको छ । भारतमा ७ प्रतिशतको आर्थिक विकास नर्मल भएको छ । सात प्रतिशतको दरले भारतको आम्दानी अर्को २५ वर्षमा १५ हजार डलर पुग्न सक्छ । दुवै देश आर्थिकरुपमा शक्ति सम्पन्न राष्ट्रको रुपमा गइरहेका छन् । दुवै देशमा राष्ट्रियता असाध्यै शक्तिशाली रुपमा आएको छ ।’

उनले नेपाल राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए । उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे । 

Advertisement

Advertisement