सडक खनेपछि जस्ताको तस्तै नबाउनेलाई कारबाही गर्ने महानगरको चेतावनी
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । 

Advertisement

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताइन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

‘यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौं,’ उपप्रमुख डंगोलले भनिन् । 

Advertisement

Advertisement