हस्तकला व्यापार मेला सुरु, स्वदेशी तथा विदेशी गरी १७७ स्टल अवलोकन गर्न सकिने

Advertisement

काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय र बाणिज्य मन्त्री जयन्त चन्दले यसको उदघाटन गरेका हुन । 

उद्योगमन्त्री पाण्डेले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकलाले ठूलो भूमिका खेलेको बताउँदै नेपाल र नेपालीको पहिचानका रुपमा रहेका कला, संस्कृति, वेशभूषा र भाषा चिनाउन मेलाको ठूलो महत्व रहेको बताए । 

Advertisement

वाणिज्यमन्त्री चन्दले नेपाली हस्तकलालाई विदेशमा चिनाउनुपर्नेमा जोड दिँदै निर्यातलाई प्रतिस्पर्धी बनाउन वाणिज्य नीति २०७२ ल्याएको र त्यसलाई अगाडि बढाउनु जरुरी रहेको बताए ।
    
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले हस्तकलाले नेपालको अर्थतन्त्रको विकासका लागि केही सहयोग पुर्याएको बताउँदै नयाँ पुस्तालाई यो व्यवसाय सिकाउनुपर्ने बताए । 
    
हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा लगायतले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हस्तकला चिनाउन सके व्यापार घाटामा केही भए पनि कमी आउने बताए । 
    
हाल संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारत लगायत ८० भन्दा बढी मुलुकमा ५० भन्दा बढी हस्तकलाका वस्तु निर्यात हुँदै आएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, सुती, ढाका, छालाजन्य र बाँसका सामान तथा पस्मिना, प्राकृतिक रेशा आदि राखिएका छन् । मेलामा बङ्गलादेश, भुटान, भारत, चीन, जापान लगायत देशका १७७ स्टल (कक्ष) छन् ।

Advertisement

Advertisement