आँखा झिम्क्याउँदा फोटो खिच्ने लेन्स

Advertisement

काठमाडौं। हालै जापानको इलेक्ट्रोनिक्स कम्पनी सोनीले विशेष प्रविधियुक्त कन्ट्याक्ट लेन्सको विकास गरेको छ । आँखामै जोड्न मिल्ने गरी बनाइएको यो लेन्सको सहयताले आँखा झिम्क्याएर फोटो र भिडियो खिच्न सकिन्छ।

आफ्नो पछिल्लो अनुसन्धानबाट विकास गरेको यो नयाँ प्रविधिको स्वामित्वका लागि हालै प्याटेन्टसमेत दर्ता गराइसकिएको छ । यस्तो खालको नयाँ प्रविधिको विकास गरी प्याटेन्ट दर्ता गर्ने सोनी नै पहिलो कम्पनी बनेको छ । यद्यपि, यसअघि पनि गुगल र सामसङलगायत कम्पनीले पनि यस्तै प्रविधि विकास गर्ने काममा लागेको समाचार आएका थिए । तर, उनीहरूले हालसम्म प्याटेन्ट लिइसकेका भने छैनन् ।

Advertisement

आविष्कार नयाँ नभए पनि सोनीले प्याटेन्ट लिएको नयाँ लेन्स स्मार्ट प्रविधि हो । यो लेन्सको हार्डवेयरमध्ये इमेज क्याप्चर युनिट, मेन कन्ट्रोल यूनिट, स्टोरेज मोड्युल, एन्टेना र पिजोइलेक्ट्रिक सेन्सर छन् । यो स्मार्ट कन्ट्याक्ट लेन्समा नजिक भएको स्मार्टफोन, ट्याबलेट वा कम्प्युटरद्वारा वायरलेस प्रविधिबाट पावर लिन सकिनेछ । इलेक्ट्रोम्याग्नेटिक इडक्सन, रेडियो वेभ्स अथवा इलेक्ट्रोम्याग्नेटिक फिल्डबाट लेन्समा पावर प्रयोग हुने कम्पनीले जनाएको छ ।

लेन्समा मा जडित पिजोइलेक्ट्रिक सेन्सरहरूले कति समयमा आँखीभौं बन्द हुने वा खोल्ने भन्ने समयको ख्याल गर्ने मात्र नभई सचेत आँखा झिम्क्याई वा अचेत आँखा झिम्क्याई हुने समयसमेत थाहा पाउँछन् । यसको अर्थ आँखामा लेन्स जोडिएको समयमा सामान्य आँखा झिम्क्याइ भयो भने फोटो वा भिडियो खिच्दैन । तर, खिच्नकै उद्देश्यले झिम्क्याएमा भने खिच्छ । आँखा झिम्क्याउने समय ०.२ सेकेन्डदेखि ०.४ सेकेडन्सम्म हुने भएकाले यदि ०.५ सेकेन्डको अवधिमा आँखा झिम्क्याउने समयलाई भने सचेत आँखा झिम्क्याई भएको र यो सामान्य आँखा झिम्क्याइभन्दा फरक रहेको बेहोरा सोनीको प्याटेन्ट दर्ता आवेदनमा खुलाइएको छ ।

सोनीको यो लेन्स जुम गर्नसमेत मिल्ने खालको छ । हालसम्म विकास गरिएका यस्तो प्रविधिको व्यावसायिक उत्पादन भने गरिएको छैन । सोनीले विकाससँगै प्याटेन्टसमेत लिने प्रक्रिया अगाडि बढाएकाले कम्पनीले निकट भविष्यमा यसको उत्पादन गरी विश्व बजारमा पठाउने अनुमान छ । यो विषयमा कम्पनीले विस्तृतमा खुलाएको भने छैन ।

Advertisement

Advertisement