नेपाल टेलिकमले बोल्न र सुन्न नसक्नेहरुका लागि ल्यायो सहुलियत दरको भिडियो कल

Advertisement

काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा भिडियो कल सेवा सुरु गरेको छ । कम्पनीको मोबाइल नम्बर (सिम)मा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएको छ । 

हाल यो योजनामा आबद्ध सिमहरुमा यही गएको असार ३१ गतेदेखि नै सहुलियत दरमा सेवा उपलब्ध गराउन थालिसकिएको नेपाल टेलिकमले जनाएको छ । बहिरा अपाङताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी ९० रुपियाँमा ५० रुपियाँको टक टाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिन्छ ।

Advertisement

त्यसैगरी २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङता भएका व्यक्तिलाई एक पटकका लागि जीएसएम प्रविधिको प्रिपेड सिम वा सिडिएमए प्रविधिको रिम कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

यसअनुसार सोमबारदेखि निःशुल्क सिम तथा रिम कार्ड उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । यसका लागि जनआन्दोलनका घाइतेहरुले सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । 

शारीरिक अपाङता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड)सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सक्नेछन् । 

निःशुल्क सिम र रिम कार्ड उपलब्ध गराउने योजना आउँदो माघ मसान्तसम्म मात्र लागू हुनेछ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement