'जनकपुर चुरोटका कर्मचारीको फूर्ती धेरै टिक्न सकेन, टेलिकमलाई त्यस्तो हुनबाट जोगाउ'

Advertisement

काठमाडौंः सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)लाई जनकपुर चुरोट कारखाना हुनबाट जोगाउन कम्पनीका कर्मचारीहरुलाई सुझाव दिएका छन् । 

कम्पनीको तेह्रौं बार्षिकोत्सवमा शनिबार आयोजित कार्यक्रममा उनले भने, जनकपुर चुरोट कारखानाको यस्तै फुर्ति थियो पहिला, जनकपुर चुरोट कारखानामा काम गरेको भनेपछि छोरी दिन लाइन लाग्थ्यो मानिसहरुको । तर, त्यो फुर्ती धेरै टिक्न सकेन । त्यस्तो अवस्था टेलिकमको नहोस । 

Advertisement

मन्त्री कार्कीले टेलिकमलाई प्रतिस्पर्धी बनाईराख्न सबै कर्मचारीहरुको भूमिका जरुरी छ भन्दै सबैले योगदान जिम्मेवारी भुल्न हुँदैन भने । कम्पनीभित्र योग्य र दक्ष व्यवस्थापक एवं प्राविधिकहरु रहेको भन्दै उनले नेपालमा हुँदा तपाईंहरुको प्रतिभा र क्षमता किन काम गर्दैन ? त्यही व्यक्ति बाहिर गएर काम गर्दा किन देखिन्छ ? आफूले आफैलाई सोध्नुपर्यो भने । 

मन्त्री कार्कीले हामीलाई तथ्याङ्कभन्दा पनि परिणाम देखाउनुपर्यो भन्दै नेपाली जनताले गरेको खर्चमा नरमाई सदुपयोग गर्न सुझाव दिए । उपभोक्ताले धेरै डेटा प्रयोग गरुन, धेरै फोन गरुन भन्ने रणनीति, त्यसका लागि गुणस्तरीय सेवा, दुर्गम क्षेत्रका उपभोक्ताहरुसम्म दूरसञ्चार सेवाको सहज पहुँच बनाउन टेलिकम लाग्नुपर्ने उनको भनाई थियो । 

तत्काल घर घरमा इन्टरनेट पुर्याउन गाह्रो भए पनि कम्तिमा अस्पताल र विद्यालयहरुमा यो सेवा पुर्याउन कार्कीले सुझाव दिए । उनले भने, अरुको खुट्टा तानेर सधैं टेलिकमलाई दौडाउन सकिदैन, आफैं दौडिन सक्नुपर्छ अब । 

नाफा बढ्यो भनेर नरमाउनुस, तपाईंहरुको बजार खुम्चिँदैछः झा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले टेलिकमलाई नाफा बढेको तथ्याङ्क देखाएर नरमाउन टेलिकमललाई आग्रह गर्दै प्रतिस्पर्धीहरुको बजार जुन ढंगले तीब्र गतिमा बढेको छ, त्यो ढंगले बढन नसकेको कुरामा हेक्का राख्न सचेत गराए । प्रतिस्पर्धी बजारमा टेलिकमले आफूलाई अप टु डेट राख्नुपर्ने झाको भनाई छ । 

उनले आधुनिक प्रविधिहरुको प्रयोग विना अबको दूरसञ्चार सेवाले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै पूराना भइसकेका एडिएसएल, वाइम्याक्स जस्ता सेवा बन्द गरेर उच्चतम प्रविधिहरु अपनाउन र अन्तर्राष्ट्रिय आगमन कमलाई सस्तो बनाउन सुझाव दिए । यस्तो कललाई सस्तो बनाउँदा खाडी तथा अन्य मुलुकमा बस्ने नेपालीहरुको पैसा जोडिने र त्यो पैसा रेमिटान्सको रुपमा भित्रिएर नेपाललाई नै फाइदा हुने बताए । 

फाइभजीको तयारी गर्नुपर्ने बेला फोरजी नै विस्तार हुन सकेनः गुरुङ
टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्र गुरुङले टेलिकम जस्ता सरकारी निकायको आवश्यकता र समस्या सम्बोधन गर्न खरिद ऐनमा संशोधन गरिएको भन्दै यसबाट लाभ लिएर टेलिकमले प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताए । उनले ऐनअनुसार नियमावली चाँडै ल्याउन पनि कुरा भइरहेको बताए । 

गुरुङले टेलिकमको माथिदेखि जिल्लास्तरसम्म कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिँदै त्यसको आधारमा कर्मचारीहरुको कामको मूल्याङ्कन गरी पुरस्कृत गर्ने, कार्यालयहरुको पनि कार्यसम्पादन मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । अन्य कम्पनीको तुलनामा एनटिसीका कर्मचारीहरुको उत्पादकत्व न्यून रहेको गुरुङको भनाई थियो । 

दूरसञ्चार नीति तथा ऐनमा संशोधन गरेर उपभोक्ताले किनअनुसार डाटा उपभोग गर्न नपाए क्षतिपूर्ति दिने व्यवस्था गर्न लागिएको भन्दै उनले यो चुनौतिको पनि सामना गर्न तयार रहन टेलिकमलाई सुझाव दिए । फाइभजीको लागि तयारी गर्नुपर्ने बेला फोरजी नै विस्तार गर्न नसक्नु ठूलो कमजोरी हो भन्दै गुरुङ ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरेर भए पनि दूरसञ्चार सेवालाई दुर्गभसम्म गुणस्तरीय बनाउनुपर्ने बताए । 

टेलिकमको ग्राहक एक करोड ६२ लाखः कामिनी
नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको ग्राहक संस्था बढेर अहिलेको माघसम्म एक करोड ६२ लाख (५६ दशमलव ३२ प्रतिशत टेलिघनत्व) नाघेको जानकारी दिइन । तेह्र बर्ष अघि यो संख्या चार लाख २२ हजार मात्रै थियो । 

कम्पनीको चालु आर्थिक बर्षको मुनाफा ४७ अर्ब १० करोड रुपियाँ पुगेको छ । गत बर्ष कर, रोयल्टी तथा मुनाफा आदिसमेत गरी सरकारलाई २३ अर्ब १० करोड रुपियाँ बुझाउन सफल भएको नेपाल टेलिकमले रणनीतिक साझेदार भित्राउन परामर्शदाता नियुक्त भई काम अघि बढेको राजभण्डारीले जानकारी दिइन । 

उनले कम्पनीले सञ्चार गरिरहेको विभिन्न सेवाहरु विना अवरोध सञ्चालन गर्ने उद्देश्यले निरन्तर अनुगमन र समस्या आउनुभन्दा पहिला नै मर्मत गर्ने कार्यलाई जोड दिएको, त्यसका लागि उपकरणहरुमा रेडुन्डेन्ट सिस्टमसमेत राखेर ग्राहकलाई सकारात्मक परिवर्तनको अनुभूति गराउने प्रयास सुरु भएको बताइन । 

Advertisement

Advertisement