आर्थिक सर्वेक्षणः नेपालको वैदेशिक ऋणको बोझ आठ खर्ब ४३ अर्ब

Advertisement

काठमाडौंः नेपालले स्वदेशी तथा विदेशी दातृ संस्था तथा मुलुकहरुलाई तिर्नुपर्ने ऋण आठ खर्ब ४३ अर्ब रुपियाँ पुगेको छ । आउँदो आर्थिक बर्षको लागि बजेट जारी गर्ने तयारी भइरहँदा आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनले राज्यको ऋण आठ खर्ब ४३ अर्ब रहेको देखाएको हो ।

यो ऋण कुल ग्राहस्थ उत्पादनको २८ प्रतिशत हो । यसमध्ये वैदेशिक ऋणको अंश ५३ दशमलव ९ प्रतिशत रहेको छ भने बाँकी आन्तरिक ऋण हो । नेपालको आर्थिक स्थितिमा केही सुधार आएसँगै विदेशी दातृ संस्थाहरुले अनुदान घटाएर ऋणको अंश बढाउँदै लगेका छन् । चालु आर्थिक बर्षको पहिलो आठ महिनामै एक खर्ब चार अर्ब आन्तरिक ऋण परिचालन भएको छ।

आर्थिक सर्वेक्षणले पछिल्लो समयमा मुद्रास्फीति चाप पर्न थालेको छ । अघिल्लो बर्ष २०७४ साउनमा २ दशमलव ३ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर २०७४ फागुनमा ६ प्रतिशत पुगेको छ भने सोही अवधिमा एक प्रतिशत मात्रै रहेको थोक मुद्रास्फीति दर बढेर २.३ प्रतिशत पुगेको छ ।

चालु आर्थिक बर्षको प्रथम ८ महिनामा शोधनान्तर स्थिति २५ अर्ब रुपियाँले घाटामा गएको छ। पछिल्लो समयमा निर्यातको तुलनामा आयात बढनु र विप्रेषण विगत बर्षहरुमा जसरी बढन नसक्नुले शोधनान्तर स्थिति घाटामा गएको हो ।

चालु आर्थिक बर्षको पहिलो ८ महिनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले बढ्दा आयात भने २२ दशमलव १ प्रतिशतले बढेको छ भने कुल व्यापार घाटा २१ दशमलव २ प्रतिशतले बढेर कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत पुग्ने देखिएको छ।

Advertisement

Advertisement