स्थानीयले भुटेर खाए २६ फिट लामो अजिंगर

Advertisement

एजेन्सी । इण्डोनेसियामा एक भीमकाय अजिंगरलाई स्थानीयले मारेर खाएका छन्। एक स्थानीय सुरक्षा गार्डको हातमा टोकेपछि झण्डै २६ फिट लामो अजिंगरलाई मारेर खाइएको एक प्रहरीलाई उधृत गर्दै एएफपीले जनाएको छ।

सुमात्रा टापुको बतंग गन्सल क्षेत्रमा रोबर्ट नाबाबन नामक सुरक्षा गार्डको जम्काभेट सो अजिंगरसँग भएको थियो। सुरक्षा गार्डले अजिंगरलाई पक्रिन खोज्दा त्यसले उनको हातमा टोेकेको थियो। त्यसपछि नाबाबन अजिंगरसँग भिडे। उनलाई सघाउन अर्का सुरक्षा गार्ड र केही गाउँले पनि आए। अन्ततः उनीहरु अजिंगरलाई मार्न सफल भए। अजिंगरले नाबाबनको हात झण्डै चुँडाइदिएको बताइएको छ।
मारिएको अजिंगरलाई गाउँमा प्रदर्शनीमा समेत राखिएको थियो।
३७ वर्षीय नाबाबनले आफूले पक्रिन खोज्दा अजिंगरले टोकेको बताएका छन्। यद्यपि उनले किन अजिंगरलाई पक्रिन खोजेका थिए भन्ने बारेमा अलगअलग रिपोर्ट प्रकाशित भएका छन्। केहीले अजिंगरले बाटो छेकेको कारण त्यसलाई समात्न खोजिएको बताएका छन्।

घाइते नाबाबनलाई पेकानबारु सहरको अस्पतालमा लगिएको बताइएको छ।
भुटेर खाँदा सो अजिंगरको मासु स्वादिष्ट भएको पनि स्थानीयले बताएका छन्।
इण्डोनेसिया तथा फिलिपिन्समा २० फिटभन्दा लामा अजिंगरहरु प्रशस्त पाइन्छन्।
गत मार्च महिनामा इण्डोनेसियाको सुलावेसी टापुमा एक २५ वर्षीय बेपत्ता व्यक्ति अजिंगरकै पेटमा भेटिएका थिए। मानिस हराएकै ठाउँनेर अजिंगर भेटिएपछि मानिसहरुले त्यसलाई मारेर पेटभित्र हेरेका थिए। एजेन्सी

Advertisement

Advertisement