कोसी करिडोर प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि कार्यदल गठन

Advertisement

काठमाडौं । कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिको वडा नम्बर २०मा देखिएको समस्या पहिचान र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको छ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति,ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एक जना प्रतिनिधि रहेका छन्। कार्यदललाई आइतबारबाट काम सुरु गर्ने र सातदिनभित्रमा समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गर्ने कार्यदेश दिइएको छ।

धरान उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका—२०को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेको थियो। यसबाट आयोजनाको निर्माण रोकिएको छ।

प्राधिकरणले भने उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रलाई लाईनको चेक सर्भे गर्ने क्रममा सम्बोधन गरिसकिएको र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने बताउँदै आएको छ।

उपमहानगरपालिकाले नै प्रसारण लाइनको रुट परिवर्तन गर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो। विवाद समाधानका लागि मुख्यमन्त्री राईले पहल गरेका हुन्। मुख्यमन्त्री राई, सभामुख, सुनसरी—१का सघीय सांसद,प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङ, उपमहानगरपालिका कार्यवाहक मेयरसहितको टोलीले शनिबार प्रसारण लाइनको स्थलगत निरीक्षण गरेको थियो।

मुख्यमन्त्री राईले कोसी करिडोर प्रसारण लाइनलाई नै देखाएरनै १ नं प्रदशमा जलविद्युत क्षेत्रमा लगानी भित्र्याउनु पर्ने उल्लेख गर्दै यसको निर्माण जसरी भएपनि समयमै सम्पन्न हुनु पर्ने बताए। ‘प्रभावितलाई दिन सकिने जीविकोपार्जन तथा अन्य लाभका विषयमा छलफल गरौं तर आयोजना निर्माण अवरोध नगरौं,’उनले भने।

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरान उपमहानगरपालिका आयोजना असफल बनाउने पक्षमा नरहेको र विकास बिरोधी नभएको जिकिर गरिन्। ‘समस्या भएका ठाउँमा प्राविधिक समिति बनाइएर विवाद समाधान गरौं, रुट परिवर्तन गरिंदा पनि हामीले विवादरहित ठाउँ दिनसक्नु पर्छ त्यसो गर्न सकिएन भने काम प्रभावित हने भएकाले यसतर्फ सचेत हुनुपर्छ,’ उनले भनिन्।

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार-छोटी, मोरङ-सर्दू जलाधार क्षेत्र-तमाखाम-सालबोटे-चिण्डे डाँडा-भञ्ज्याङ-गोर्खा मेमोरियल पार्क-जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ। उपमहानगरपालिकाले भने यो रुटलाई परिवर्तन गरी भेडेटार-चुलिकोट (घुमाउने डाँडा)-खैरे-कोकाहा खोला-भालुढुंगा हुँदै सर्दू खोला हुँदै लैजान भनेको हो।

Advertisement

Advertisement

Advertisement