नेपालीसँग विवाह गर्नेलाई सात वर्षपछि मात्र नागरिकता : साझा विवेकशील

Advertisement

 

साझा विवेकशील पार्टीले नेपालीसँग विवाह गर्ने महिला वा पुरुषलाई सात वर्षमा नागरिकता दिने व्यवस्था गर्न माग गरेको छ। संसदमा विचराधिन अवस्थामा रहेको नागरिकता विधेयकको बहस र विवादका सम्बन्धमा मुख खोल्दै यो पार्टीले आधिकारीक धारणा सार्वजनिक गरेको छ।

हाल नेपाली पुरूषले विदेशी महिला विवाह गरे उनले तुरून्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरे ती पुरूषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ। सो प्रावधान विवेधकारी छ रहेको पार्टीको ठहर छ।

नेपालीसँग विवाह गर्ने पुरूष वा महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि सात वर्ष नेपालमा स्थाई बसोबास गरेको हुनुपर्ने सो पार्टीले जनाएको छ। नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र दिनुपर्ने पार्टीको धारणा छ। यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छु, विज्ञप्तिमा भनिएको छ, 'नागरिकताको विषयलाई नेपालमा जसरी हलुका र अत्यधिक खुकुलो बनाइएको छ त्यसको जोखिम कम गर्न सकिन्छ।'

आमाको नाममा नागरिकता लिँदा बुवाको पहिचान खुलाउनु पर्ने व्यवस्था विभेदकारी रहेको सो पार्टीको ठहर छ। 'बुवाको नाममा नागरिकता लिँदा बुवाले आमाको परिचय खुलाउनु नपर्ने तर आमाले भने बुवाको परिचय खुलाउनु पर्ने व्यवस्था मान्य हुन सक्दैन', विज्ञप्तिमा भनिएको छ, 'संभव भए दुवैको परिचय खुलाउनु उपयुक्त हुन्छ। संभव नभए, दुबैका हकमा समान कानूनी व्यवस्था हुनुपर्छ।'

जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुने पार्टीले जनाएको छ। जन्मका आधारमा नागरिकता प्राप्त गर्नु पहिले जन्मिएका सन्तानका हकमा यो व्यवस्था अनुचित हुने पार्टीको धारणा छ।

नेपाली नागरिकता लिएकाहरूको अभिलेखिकरण वैज्ञानिक र प्रविधि अनुकूल बनाउन पार्टीले माग गरेको छ।कसैले नागरिकता प्राप्त गर्नकै लागि गलत सूचना दिएको भेटिएमा कुनै पनि बेला कानुन बमोजिम कारवाही गरी नागरिकता खारेज गरिनु पर्ने पार्टीको भनाई छ।

Advertisement

Advertisement

Advertisement