ऊर्जामन्त्रीसँग चिनियाँ राजदूतले भनिन्-‘उर्जा क्षेत्रमा थप सहकार्यका लागि इच्छुक छौँ’

Advertisement

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो । मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया शुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानआकर्षण गराए ।

उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्ण रुपमा सहजीकरण गरिरहेको बताए । भेटमा चिनियाँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखिन् । उनले कामदारले ब्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नितीगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । साथै उर्जा संयन्त्रको बैठकका लागी आफुले सरोकारबाला निकायसंग छलफल गरेर बैठकको मिति चाँडै टुंगो लगाउने जानकारी दिइन् ।

चिनियाँ राजदूत यान्छीले उर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिंदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको धारणा राखिन् । ‘चीनबाट गभर्नर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’ राजदूत यान्छीले भेटमा भनिन् ।

Advertisement

Advertisement

Advertisement