मजदुरको नाममा फर्म दर्ता गरी १ अर्ब २९ करोड राजश्व चुहावट गर्ने बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । झुठा र नक्कली मूल्य अभिबृद्धि कर बिजकको प्रयोग गरी एक अर्ब २९ करोड छत्तीस लाख एक हजार पाँच सय बैसठ्ठी रुपैयाँ राजश्व चुहावट गर्ने २ जना बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

निम्न आर्थिक अवस्था भएका मजदुरहरुको नाममा फर्म दर्ता गरी उक्त रकम बराबर राजश्व चुहावट गर्ने बारा जिल्ला कलैया-४ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ३ धोविघाट बस्ने बिनोद अग्रवाल र झापा अनारमनी ५ घर भई हाल ललितपुर २३ हात्तीवन बस्ने विकास अग्रवाल विरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ्ग, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी वास्तविक रुपमा मालबस्तु खरिद बिक्री नै नगरी विभिन्न फर्महरुलाई झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र बिक्री गरी त्यस्ता फर्महरुबाट जारी भएका मूअ कर बिजकमा उल्लेखित मूअ कर रकम नेपाल सरकारको राजश्व खातामा नबुझाई राजश्व छली गरेको देखिएको विभागले जनाएको छ ।

राजश्व चुहावट गर्ने अग्रवालद्वय विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ१) बमोजिम विगो कायम गरी निज प्रतिवादीहरुबाट असूल उपर गर्न र निजहरुलाई कसूरको मात्रा हेरी सोही ऐनको दफा २३(१) बिगोको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय र मतियारलाई ऐऐनको २३(२) बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुन माग दावी सहित अदालतमा मुद्दा दायर गरेको विभागद्वारा सोमबार प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मुद्दाका प्रतिवादीहरु:
1. बिनोद कुमार अग्रवाल,  मूख्य व्यक्ति
2. विकास अग्रवाल, मूख्य व्यक्ति
3. पार्वती महरा प्रोप्राइटर- नाइस ट्रेडिङ्ग र प्रसुमा सप्लायर्स प्रा.लि.

4. शिव शंकर वोगटी प्रोप्राइटर- आर्यन ट्रेडिङ्ग कन्सर्न
5. पुजा महरा प्रोप्राइटर- निशिला ट्रेडिङ्ग र सुशिम ट्रेड इन्टरप्राइजेज
6. अम्बिका अधिकारी प्रोप्राइटर- अमिशा ट्रेडिङ्ग कन्सर्न
7. अशोक अधिकारी प्रोप्राइटर- स्मारिका जनरल सप्लायर्स
8. सेर बहादुर कार्की प्रोप्राइटर- सीसम ट्रेड इन्टरनेशनल
9. धर्म प्रसाद दहाल प्रोप्राइटर- अनमिका ट्रेडर्स

10. जानुका अधिकारी प्रोप्राइटर- जेनिशा ट्रेड एण्ड सप्लायर्स
11. रेनुका अधिकारी प्रोप्राइटर- अविन ट्रेडिङ्ग

12. किरण थापा प्रोप्राइटर- किशा ट्रेड इन्टरप्राइजेज
13. सविन कणेल प्रोप्राइटर- श्रीअन्तु जनरल सप्लायर्स
14. शिव मन्दिल श्रेष्ठ व्यवसायी
15. वालन कुमार श्रेष्ठ व्यवसायी
16. भुवन पाण्डे चार्टर्ड एकाउन्टेन्ट
17. कृष्णहरी मरहट्टा लेखा परीक्षक
18. देवराज उपाध्याय लेखा परीक्षक
19. संजयराज पाण्डे गुरुघराना लेखा परीक्षक
20. निरोज के.सी. कर सहयोगी
21. गोपाल प्रसाद भट्टराई कर सहयोगी

 

Advertisement

Advertisement

Advertisement