चौध करोड ८१ लाख गैरकानूनी सम्पत्ति आर्जन गर्ने मालपोतका सुब्बा बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । मालपोत कार्यालय कलैया(बारा)मा दरबन्दी भई सिमरा कार्यालयमा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा गुप्तासँग हाल हाल १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ बराबरको सम्पत्ति देखिन्छ । बैध आयको तुलनामा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको श्रोत नखुलेको पाइएपछि मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

२०४७ सालमा मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरी गुप्ता २०६४ सालमा नायब सुब्बा पदमा बढुवा भएका थिए । मालपोत कार्यालय पर्सा हुँदै सिमरामा निमित्त कार्यालय प्रमुखको समेत जिम्मेवारीमा कार्यरत उनको तलब पारिश्रमिक बचत आय/घर जग्गा बिक्री/विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा/छोरा रकी गुप्ताको आय/घर बहाल आय समेत गरी ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ बैध आय आर्जन भएको पाइएको आयोगले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

निज गुप्ताले हाल उनीसँग रहेको सम्पत्तिको श्रोत पुष्टी गर्न नसकेको आयोगले जनाएको छ । गैर कानूनी रुपमा आर्जन गरी आफ्नो र परिवारको नाममा राखेको सम्पत्तिको बिगो १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ जफत समेत गर्ने प्रयोजनका लागि गुप्ता सहित निजकी श्रीमति रीता देवी, छोराहरु विक्की र रकी, अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादव समेतलाई मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ को दफा २९(ख) बमोजिमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement