दश करोड ५६ लाख गैरकानूनी सम्पत्ति आर्जन गर्ने तातोपानी भन्सारका प्रमुख बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जन गरेका तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दर्ता गरेको हो । भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-४ धुम्बराही बस्ने भन्सार प्रमुख बस्नेत बिरुद्ध मुद्दा दर्ता गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

२०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरी हाल उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजका जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममासमेत लुकाई राखेका छन् भन्ने बारेमा आयोगमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो ।

विभिन्न मितिहरुमा आयोगमा पर्न आएका उजुरीहरुका सम्बन्धमा भन्सार प्रमुख बस्नेतले सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्मको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट १ करोड ७८ लाख २०हजार ९७५ रुपैयाँ आय प्राप्त गरेको देखिएको छ ।

तर, सोही अवधिमा उनको व्यय तथा लगानीतर्फ हेर्दा जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको सांवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतिय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत गरी ३ करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगका सहायक प्रवक्ता अधिकारीले जनाएका छन् ।

सहायक प्रवक्ता अधिकारीका अनुसार सो अवधिमा निजको आय भन्दा व्यय १ करो ३५ लाख ३८ हजार ८१७ रुपैयाँ अधिक देखिनआएको छ । बस्नेतले आफु प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवम् भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस रिसवत उठाई त्यस्ता गैरकानूनी रकमहरु बिभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ जम्मा गर्न लगाएको देखिएको आयोगको अनुसन्धानले देखाएको छ ।

त्यसरी जम्मा गरिएका कतिपय रकमहरु भन्सार प्रमुख बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने तथा लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवम् कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत पाइएको आयोगले जनाएको छ ।

कहाँ कहाँ छ भन्सार प्रमुख बस्नेतको लगानी ?
भन्सार प्रमुख बस्नेतले जेठान नबिनकुमार गौलीको नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको समेत देखियो । उनले जेठान गौलीले प्राप्त गर्ने गरी पठाएको रकमहरु खाँदबारीबाटै झिकेर जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेको देखिन आएको आयोगद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

साथै गौलीले बस्नेत बिराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अबधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, निजको नामबाट अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी लगानी गरेको देखिएको छ । यसरी गरिएको लगानी रकम नबिनकुमार गौलीको ऋण, कृषी आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाबिक रुपमा बढी देखिएको आयोगको ठहर छ ।

समग्र जाँच अवधिमा भन्सार प्रमुख बस्नेतको आफ्नै श्रोत नपुगेको रकम र जेठान नबिनकुमार गौलीको नाममा पठाएको श्रोत नखुलेको रकम समेत गरी १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ खर्च तथा लगानीको श्रोत नखुलेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०१७ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर अपराध गरेको पुष्टि हुन आएको आयोगको दाबी छ ।

यसरी भन्सार प्रमुख बस्नेत, गैरकानूनी सम्पत्ति व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न रही मतियारको भूमिका निर्वाह गर्ने उनका जेठान नबिनकुमार गौली, बस्नेतकी श्रीमती सबिता गौली बस्नेत, नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौली गैरकानूनी आर्जनको सम्पत्ति लुकाई छिपाई राख्ने कार्यमा संलग्न देहायले सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जनाएका छन् ।

विराटनगर भन्सार प्रमुख हुँदा लिएका थिए १७ लाख घुस
आयोगका अनुसार विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको १७ लाख घुस लिएको पुष्टी भएको छ ।

बस्नेतले घुस वापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएको छ । गौलीले निज कृष्णबहादुर बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरुमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको देखिंदा गौली समेतलाई बिगो १७ लाख कायम गरी शुक्रबार नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement