देशभर हिमपात र वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Advertisement

काठमाडौं । शुक्रबार देशभरका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भएको छ । सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले बिहिबार अपरान्हदेखि बढेको चिसोका कारण देशका विभिन्न भेगमा हिमपातसँगै वर्षा भएको हो ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भू–भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ५ गते (आइतबार)
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

Advertisement

Advertisement