फागुन १ गतेदेखि काठमाडौंमा ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

Advertisement

काठमाडौं । फागुन १ गतेदेखि काठमाडौंमा ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। महोत्सव नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ गतेसम्म चल्नेछ ।

नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ । जसमा १० अन्तरराष्ट्रिय कथानक चलचित्र , ३५ लघु चलचित्र , ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो ।

विभिन्न ५५ देशका ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

महोत्सवमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ । झालाई निर्णायक मण्डलमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडीले साथ दिनेछन् ।

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपियाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपियाँसहितको पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रतर्फको विधामा उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मूल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

Advertisement

Advertisement