बहुर्राष्ट्रिय कम्पनीकै खाताहरु पारदर्शी छैनन्ः टंकमणि

Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २३ औँ वार्षिकोत्सव तथा दोस्रो दीक्षान्त समारोहमा शनिबार मन्त्री पोखरेलले नेपालमा आधारभूत तहका जनशक्तिको उत्पादन धेरै भए पनि मध्यम र दक्ष जनशक्ति कम उत्पादन भइरहेको बताए।

उनले भने, ‘हाम्रोमा ७ प्रतिशतको हाराहारीमा मात्रै दक्ष जनशक्ति उत्पादन हुन्छन्,ु उनले भने, ुतपाईं चार्टर्ड एकाउन्टेन्टहरु दक्ष हुनुहुन्छ, मुलुक विकासका लागि काम गर्नुस् ।’

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आइक्यानले अहिले पनि उच्च पेशागत विकासका लागि काम गरिरहेको बताए। उनले मुलुकमा लेखा व्यवसायको दायित्व अझ बढ्दै गएकाले यसको नियमनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे।

‘हामी सबैको जिम्मेवारी भनेको वित्तीय पारदर्शीता, आर्थिक अनुशासन र सुशासन हो। यसका लागि पेशागत मर्यादा, सहकार्यको आवस्यकता पर्दछ,’ उनले भने। यसका लागि आइक्यान पनि एक हिस्सा भएको उनको भनाइ थियो।

अंकमा खेल्ने र प्रमाणित गर्नुपर्ने पेशा भएकाले यसमा त्रुटि अक्षम्य हुने दंगालले बताए। छ दशकको इतिहासमा सरकारी तथा निजी क्षेत्रको लेखामा गम्भिर समस्याहरु देखिएका छन्। यसमा अब लेखा पेशाकर्मीले हिसाब किताबमात्र राख्नेभन्दा पनि स्वच्छता चाहिने उनको सुझाव छ।

‘सरकारी लेखामात्र होइन निजी क्षेत्रको लेखा पनि पारदर्शी छैन। हाम्रो अनुभवले के भन्छ भने निजी क्षेत्रमा पनि उत्तिकै समस्या छ। अहिले पनि नेपालमा बहुर्राष्ट्रिय कम्पनीदेखि ठूला घरानीयाको खातापाता स्वच्छसँग आएको छैन,’ उनले भने, ’अडिटरले हिसाब मिलाइदिन्छ भन्ने र खाता बोकेर हिँड्छ । अडिटरले खाता बोक्ने होइन। खाता बोक्ने त लेखापालले हो। झोलामा खाता राखेर अडिटरले हिड्ने होइन।’

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का अध्यक्ष कृष्ण आचार्यले पेशागत दक्षतामा चार्टर्ड एकाउन्टेन्टहरु एक कदम माथि पुगेको बताए। आर्थिक पारदर्शिता तथा सुशासनका लागि अत्यावश्यक यो पेशाको विकासमा सबैको योगदान रहेको उनको भनाइ छ।

आर्थिक वर्ष ०७५।७६ प्रतिवेदन प्रस्तुत गर्दै उनले २२ करोड आम्दानी गरी १४ खर्च गरेको जानकारी दिए। संस्थाको ५० करोड सम्पत्ति पुगेको र यसले संस्थाको दीगोपन ग्यारेन्टी गरेको उनले बताए । आचार्यले गत वर्षमा ८२ सदस्य थपिएको पनि जानकारी गराए।

संस्थाले प्रविधिमा आधारित नियमनलाई संस्थागत गरेको उनले जानकारी दिए। आचार्यका अनुसार संस्थाले विभिन्न विदेशी संस्थाहरुसँग पनि सहकार्य सुरु गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा संस्थाले अष्ट्रेलिया, वेल्ससँग स्थापित गरिसकेको र क्यानडासँग बढाउने क्रममा रहेको आचार्यले जानकारी दिए।

१०५ चार्टर्ड एकाउन्टेन्ट्स दीक्षित
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विभिन्न वर्षमा चार्टर्ड एकाउन्टेन्टको परीक्षा उत्तीर्ण भएका १०५ विद्यार्थी शुक्रबार दीक्षित भएका छन्। विभिन्न वर्षमा चार्टर्ड एकाउन्टेन्ट्स उत्तीर्ण गरी दीक्षित हुन बाँकी उनीहरुलाई एकैपटक दीक्षित गरिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले अबदेखि प्रत्येक वर्ष दीक्षान्त गर्ने गरी तयारी गरिएको जानकारी गराएका छन्।

संस्थाको वार्षिकोत्सव र दीक्षान्त समारोहमा विभिन्न उपाधि हासिल गर्ने विद्यार्थी एवं चार्टर्ड एकाउन्टेन्टसहरुलाई सम्मान गरिएको थियो। संस्थाले वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको थियो।

Advertisement

Advertisement

Advertisement