राष्ट्रिय इञ्जिनीयर सम्मेलनः स्मार्ट पूर्वाधारका विषयमा छलफल हुने

Advertisement

काठमाडौं । ‘स्मार्ट’ पूर्वाधार निर्माणमा सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आगामी साता राजधानीमा १६औँ राष्ट्रिय इञ्जिनीयर सम्मेलन हुँदैछ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको आयोजनामा हुने सो सम्मेलनले इञ्जिनीयरहरूका बीचमा छलफल गरेर पूर्वाधारको आवश्यकता पहिल्याउनेछ ।

समृद्ध मुलुक निर्माणका लागि आवश्यक पर्ने नीति, योजना निर्माण गर्न सम्मलेनमार्फत सरकारलाई सुझाव दिइने एशोसिएशनका उपमहासचिव कपिल आचार्यले जानकारी दिनुभयो । स्वदेश तथा विदेशका झण्डै दुई हजार इञ्जिनीयर सहभागी हुने सो सम्मेलनमा ‘टेक्नो–इकोनोमी’ सत्रमा ‘राष्ट्रिय समृद्धिका लागि ‘स्मार्ट’ पूर्वाधारः नीति, योजना र कार्यान्वयन’ विषयमा बृहत् छलफल हुनेछ । उक्त सत्रको मुख्य वक्ताका रूपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहेका छन् ।

सम्मेलनका क्रममा समृद्ध मुलुक निर्माणमा कस्तो पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा छलफल हुने उपमहासचिव आचार्यले जानकारी दिए । यही फागुन २१ देखि २३ सम्म हुने सो सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनको सन्दर्भ पारेर शनिबार एशोसिएशनले म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इञ्जिनीयरहरूको भूमिका अतुलनीय रहेको बताए ।

Advertisement

Advertisement

Advertisement