सुनको मूल्य २ हजार रुपियाँ घट्यो, एकसातामै प्रतितोला ७ हजार २ सय रुपियाँको गिरावट

,   ४ चैत्र २०७६, मंगलवार, १२:०३ pm   

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य सोमबार बढेपनि आज फेरी प्रतितोला २ हजार रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भइरहेको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रुपियाँ घटेर कारोबार भइरहेको हो ।

एकसाता अघि फागुन २७ गते मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपियाँ घटेको हो । गत साताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय, तेजावी सुन ८२ हजार ४ सय र चाँदी प्रतितोला ८ सय ८० रुपियाँमा कारोबार भएको थियो । यसरी हेर्दा गत साताको तुलनामा आज चाँदी प्रतितोला १ सय ७० रुपियाँ घटेर कारोबार भइरहेको हो ।

aecc

गत शुक्रबारको तुलनामा चैत २ गते आइतबार प्रतितोला १५ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य हिजो सोमबार भने प्रतितोला ५ सय रुपियाँले बढेको थियो । महासंघका अनुसार हिजो छापावाला सुन प्रतितोला ७७ हजार पाँच रुपियाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । चाँदीको मूल्य स्थीर रहँदै हिजो प्रतितोला ७ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

चैत २ गते आइतबार भने छापावाला सुन प्रतितोला ७७ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार अघिल्लो दिनको तुलनामा एकै दिन प्रतितोला ३ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार कोरोना भाइरसको प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएकोले सेयर मार्केटमा भारी गिरावट आउँदा सुनको भाउमा पनि भारी गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा डलरको मजबुत हुन गई सुनको भाउमा भारी गिरावट आएको, डलरको तुलनामा भारतीय मुद्रा पनि कमजोर भएकाले अन्तरिक बजारमा पनि सुनको भाउमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।