कोरोना संक्रमित युवती एक सातादेखि 'होम क्वारेन्टाइन'मा थिइन्

Advertisement

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित १९ बर्षीय युवतीको रिपोर्ट पोजेटिभ आएपछि मात्रै उनलाई अस्पताल पुर्याइएको जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) पोजेटिभ भेटिएपछि सोबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन मन्त्री ढकालले रिपोर्ट आउनुअघिसम्म १९ बर्षीय महिला (युवती) होम क्वारेन्टाइनमा रहेको जानकारी दिए । फ्रान्सबाट कतार हुँदै कतार एयरवेजबाट गत साता काठमाडौं आइपुगेकी ती युवती घरमै रहेका कारण उनको सम्पर्कमा आउने अन्यलाई पनि कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी ती युवतीको आइतबार कोरोना भाइरस देखिएको हो । मन्त्री ढकालले उनीसँग सम्पर्कमा आउने अन्य व्यक्तिको पनि खोजी भइरहेको बताए । उनले भने, ‘उहाँसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ कहाँको आउनुभएको थियो, त्यसलाई पनि हामीले खोजेर व्यवस्थित गर्छौं ।’

पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु पनि थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता सहसचिव विकास देवकोटाले कोरोना संक्रमित नेपाली नागरिक फेला परेको बताउँदै भने, ‘हालसम्म शंकास्पद लक्षण देखिएका र क्वारेन्टाइनमा राखिएका करिब छ सय नमूनाको परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ भेटिएको अवस्थामा गत मंगलबार चैत्र ४ गते फ्रान्स र कतारको दोहा हुँदै काठमाडौं आएर लक्षणविहीन अवस्थामा होम क्वारेन्टाइनमा बसेका नेपाली नागरिकको हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दाखेरि कोभिड १९ पोजेटिभ देखिएको छ ।’

कोरोना संक्रमित युवतीलाई अहिले शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको देवकोटाले बताए । उनीसँग सम्पर्क भएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ र अब उहाँको उपचार र यससम्बन्धी सबै व्यवस्थापनहरु तोकिएको मापदण्डबमोजिम गरिने पनि जनाइएको छ ।

मन्त्री ढकालले परीक्षण गरेपछि पोजेटिभ देखियो भने त्यसको उपचारको जिम्मा सरकारले लिने बताउँदै धैय नगुमाउन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement