'कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको बीमा गर्न तयार छौं'

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बीमा गर्न तयार रहेको बताएका छन् । उनले जीवन बीमा कम्पनीहरु मार्फत ३ महिनाका लागि त्यस्तो बीमा गर्न सकिने बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको २५ लाख रुपैयाँको बीमा गर्ने निर्णय गरेको थियो ।

‘जीवन बीमा कम्पनीहरुसँग एक वर्षको पोलिसी छ, त्यसमा डिस्काउन्ट गरेर ३ महिनाको बीमा गराउन सकिन्छ, म्यादी बीमा पुल मार्फत पनि जान सकिन्छ, राष्ट्रिय बीमा संस्थानले पनि गर्न सक्छ’, बीमा समितिका अध्यक्ष चापागाईँले कर्पाेरेट नेपालसँग भने । उनले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बीमा गर्नेबारे आफुसँग पनि सरकारका प्रतिनीधीहरुले छलफल गरेको पनि बताए ।

उता, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बीमा गराउने सम्बन्धमा छलफल अघि बढाईसकेका छन् । उनले मंगलबार नै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीसँग छलफल समेत गरेका थिए ।‘हामी बीमा गर्न सक्छौं भनेर सरकारलाई भनिसकेका छौं, पुनर्बीमा कम्पनीका सिइओसँग आज छलफल भयो, सरकारले जिम्मा दियो भने हामी बीमा गर्छाै’, संस्थानका प्रशासक पाठकले भने ।

पुनर्बीमा कम्पनीका सिइओ रायमाझीले पनि कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बीमाको पुनर्बीमा गर्न कम्पनी तयार रहेको बताए ।‘हामी सरकार र नागरिकको सेवा गर्न बसेका हौं, स्वास्थ्यकर्मीको बीमा गराउँदा पुनर्बीमाको जोखिम बोक्न हामी तयार छौं’, सिइओ रायमाझीले भने ।

उता, जीवन बीमक संघले पनि बीमा पुल मार्फत बीमा गराउन सरकारसँग आग्रह नै गरिसकेको छ । संघका सचिव पोशकराज पौडेलले पनि पुल मार्फत बीमा गराउन सकिने बताए । ‘हामी जीवन बीमा कम्पनीहरु कोरोना उपचारमा संलग्नहरुको बीमा गराउन तयार छौं, हामीसँग म्यादी जीवन बीमाको पुल पनि छ, त्यसैबाट पनि जान सकिन्छ’, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ समेत रहेका जीवन बीमक संघका सचिव पौडेलले भने ।

भारतमा ५० लाखको बीमा सरकार आफैंले गरिदिएकोले नेपालमा पनि सरकारले आफैं जोखिम बोक्ने सम्भावना समेत रहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement