कोरोना कोषमा दुई करोड सहयोग गर्दै पूर्वराजा भन्छन्- 'लकडाउन' बाध्यात्मक हो, पालना गरौं

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले बनाएको कोषमा दुई करोड रुपियाँ सहयोग गरेका छन् । उनले हिमानी कोषमार्फत सरकारी कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएकोले यसको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

पूर्वराजा शाहले मंगलबार वक्तव्यमार्फत सहयोगको घोषणा गर्दै भनेका छन्, “लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन ।”

‘दुःख कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरेको बताउँदै पूर्वराजा ज्ञानेन्द्रले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी पक्षबाट भइरहेको कामको प्रसंशा गरेका छन् । उनले यसलाई अझै प्रभावकारी बनाउनुपर्ने खाँचो पनि औंल्याएका छन् ।

ज्ञानेन्द्र शाहले महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’

त्यसैगरी, आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै उनले यसको उच्च सराहना पनि गरेका छन् । कोरोना भाइरसले मानव समुदायमा त्रास र सभ्यतामाथि नै चुनौती दिएको ज्ञानेन्द्र शाहको भनाई छ ।

उनले विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको आफूले ठानेका भन्दै देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको बताएका छन् ।

मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै हामी सबैले आआफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भइसकेको ज्ञानेन्द्र शाहको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement