विश्वको आर्थिक वृद्धिदर माइनस ३ प्रतिशत, नेपालको २.५ प्रतिशतमा सीमित हुने अनुमान

Advertisement

काठमाडौं । गत माघमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ ।

हालै मात्र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो भने नेपालका अर्थशास्त्रीहरू भने नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने बताउँछन् । आईएमएफले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरे पनि दक्षिण एसियाली देशहरूमध्ये नेपालको आर्थिक वृद्धिदर भने तुलनात्मक रूपमा सन्तोषजनक हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले वल्र्ड इकोनोमिक आउट लुक रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२० का लागि २.५ प्रतिशत मात्र रहने र सन् २०२१ का लागि ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

कोषका अनुसार सन् २००२ देखि ११ सम्म नेपालको आर्थिक वृद्धिदर ३.८ थियो भने सन् २०१२ मा ४.३ थियो । यसैगरी, २०१३ मा ४.१, २०१४ मा ६ र २०१५ मा ३.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सन् २०१६ मा भुइँचालोका कारण ०.६ मा सीमित भएको थियो । सन् २०१७ मा हालसम्मकै सबैभन्दा वढी ८.२ प्रतिशत आर्थिक वृद्धि भएको थियो । त्यस्तै, सन् २०१८ मा ६.७ र गत वर्ष ७.१ प्रतिशत आर्थिक वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले उल्लेख गरेको छ ।

कोषका अनुसार दक्षिण एसियाका अन्य देशहरूमध्ये बंगलादेशको आर्थिक वृद्धिदर १ प्रतिशत, भुटानको २ प्रतिशत र भारतको १.९ प्रतिशत मात्र रहनेछ । माल्दिभ्स र श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक हुने अनुमान कोषको छ । कोषले श्रीलंकाको वृद्धिदर –०.५ प्रतिशत र मालदिभ्सको –८.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्वको अर्थ व्यवस्था सन् १९३० को दशकको महामन्दीपछि यतिबेला सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको कोषले उल्लेख गरेको छ । विश्वकै अर्थ व्यवस्थाको वृद्धिदर ऋणात्मक भई माइनस ३ प्रतिशतमा रहने कोषको ठम्याइ छ ।

सन् २०२० को जनवरीमा आईएमएफले नै विश्वको जीडीपी ३.३ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो । तर, हाल माइनस ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको हो ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement