भारतमा अडकिएकाको गुहार- सरकार ! मलाई मेरो मुलुक फर्किन देउ

Advertisement

नयाँदिल्ली । बाराका नागेश्वर गिरीले भारतको गुजरात राज्यको सुरतस्थित एउटा गार्मेन्टमा काम गर्न थालेको चार वर्ष भयो । गत मार्च २२ देखि उनी र अन्य पन्ध्र जना साथी कोठाभित्रै छन् । कम्पनीले कुनै सोधपुछ गरेको छैन । उनीहरूलाई काम लगाउने म्यानेजर पनि फोन बन्द गरेर बसेको छ । अलिअलि भएको पैसा सकिइसक्यो । रासन दिने पसलेले पनि पहिलेको उधारो नदिएसम्म अब दिन्न भनेको छ ।

आन्ध्र प्रदेशको तिरुपतिमा अलपत्र नेपाली
राहतको नाममा एकपटक डेढ किलो चामल, एक किलो आलु, एक किलो प्याज र पाँच सय ग्राम तेल पाए । त्यतिले कति दिन चलोस् ? ‘अब त भोकै मरिने भइयो, काम पनि छैन खान पनि छैन, घर नगई उपाय छैन,’ उनले भने । गिरीका अनुसार त्यस क्षेत्रमा बारा, कैलाली, पर्सा र सुर्खेतका गरी सयौंको सख्यामा नेपाली कामदार छन् । सबैको अवस्था त्यस्तै छ । उता नेपालमा परिवारले लिने चिन्ता बेग्लै छ । बिहान–साँझै फोन आउँछ जसरी आउनु भनेर । त्यही भएर पनि अब त राहत पाए पनि, नेपाल जाने दिन कुरेर बसेको उनले बताए । ‘घरबाट फोन आइरहन्छ, जसरी भए पनि आइज भन्नुहुन्छ, सबै जना चिन्तित हुनुहुन्छ,’ उनले भने ।

कोरोना महामारी नियन्त्रण गर्न भारतले गरेको लकडाउनका कारण सास्ती खेप्ने गिरी एक्ला होइनन् । जम्मुदेखि गुजरात, मुम्बई, पन्जाब, दिल्ली, हिमाचललगायत विभिन्न राज्यमा रहेका हजारौं नेपाली कामदारले उनकै जस्तो दुःख खेप्नुपरेको छ । भारतमा करिब पन्ध्र लाखको संख्यामा नेपाली कामदार रहेको अनुमान गरिन्छ । उपचारका लागि आएका बिरामी, तीर्थालु, विद्यार्थीको अवस्था पनि खासै फरक छैन । यस्ता हजारौं व्यक्ति भारतका विभिन्न सहरमा रोकिएका छन् । लकडाउन लम्बिँदै जाँदा उनीहरूको दुःख पनि बढ्दै गएको छ ।

सबैभन्दा बढी समस्या रेस्टुराँ, होटल र पार्टी प्यालेसमा कुक, वेटर काम गर्नेहरू र अन्य ज्यालादारीमा काम गर्नेलाई भएको छ । भारत सरकारले अन्य व्यवसायका लागि लकडाउन क्रमशः खुकुलो बनाए पनि होटल, रेस्टुराँ र पार्टी प्यालेसलाई सञ्चालन अनुमति दिएको छैन । जसले गर्दा भारतमा ठूलो संख्यामा रहेका नेपाली कामदारलाई समस्या परेको छ । जम्मुको सैनिक कोलोनी, डी सेक्टरमा पार्टी प्यालेसमा काम गर्ने ३२ नेपाली अहिले सास्ती खेपिरहेका छन् । प्यार्टी प्यालेसमा काम गर्ने काठमाडौं, थानकोटका सुदीप शर्माबाहेक अरू सबैजना अर्घाखाँचीका छन् । जम्मुमा लकडाउनअघि नै सबै होटल र पार्टी प्यालेस बन्द गरिएको थियो । खर्च सकिँदै गएपछि हिँडेर जान पनि समस्या छ उनीहरूलाई । हरेक महिना घरमा पैसा पठाउनुपर्ने बाध्यताले आफूहरूसँग धेरै बचत नभएको उनले सुनाए । त्यसमाथि यति धेरै लकडाउनका होला भन्ने अनुमान कसले गरेको थियो र रु ‘हरेक महिना कमाएको पैसा पठाउने गर्थ्यौ, यस्तो होला भन्ने चिताएका पनि थिएनौं,’ उनले भने ।

अहिलेसम्म त उनीहरूले धानिरहेका थिए । तर, लकडाउन लम्बिँदै जाँदा हिम्मत हार्न थालेको छ । ‘जेनतेन बस्दै आएका थियौं, अलिअलि भएको खर्च पनि सकिन थाल्यो,’ उनले भने । हिम्मत धर्मराउँदै गएपछि साथीहरूको आग्रहमा उनले दिल्लीस्थित दूतावासमा फोन गरे । फोनको घन्टी गयो तर उठेन । उनले सबैजना नेपाल जान ब्याकुल रहेको बताए । ‘जसरी भए पनि घर जान चाहन्छौं, बरु ढिँडोफाँडो खाए पनि नेपालमै जाने,’ उनले भने । नेपालमा जति दिन क्वारेन्टाइनमा बस्न पनि तयार रहको उनको भनाइ छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement