कोरोना संक्रमित साढे चार सय नाघ्यो, थपिएका सबै झापा र रुपन्देहीका

Advertisement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या साढे चार सय नाघेको छ । झापा र रुपन्देहीका ९ जना थपिएसँगै कुल संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित नौ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

झापाका संक्रमित सबै पुरुष हुन् । उनीहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

उनीहरुसमेत कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय १५ जना पुरुष हुन् । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला थिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले बताए ।

संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको जनाउँदै उनले योसँगै झापामा मात्र बिहीबार २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको बताए । आज कुल २७ जनाका कोरोना पुष्टि भएको छ ।

त्यस्तै, आज गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

अहिलेसम्म ४९ जना कोरोनामुक्त भएका छन् ।

Advertisement

Advertisement

Advertisement