तातोपानीबाट उठ्यो रु. एक अर्ब २७ करोड, राजश्व संकलनमा सकारात्मक प्रभाव

Advertisement

मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ ।

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा रु एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म रु १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र रु १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट रु एक अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ ।

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ । यस्तै यस अवधिमा रु ११ करोड २० लाखको स्याउ र लसुन, रु चार करोड ४४ लाखको धानको बीउ, रु ८२ लाखको कृषि सामग्री र रु ४९ लाखको एम्बुलेन्स आयात भएको छ ।

बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
यता, आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द छ ।

बन्दाबन्दी हुनुअघि कामको चापले कर्मचारीलाई भ्याइनभ्याइ हुन्थ्यो । गत चैत ११ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेसँगै अहिले आन्तरिक राजस्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित भएको छ ।

गएको चैत महिनामा रु ९३ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो कार्यालयले उक्त अवधिमा रु १३ करोड ९२ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । त्यस्तै वैशाखमा रु एक अर्ब ११ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ करोड मात्र राजस्व सङ्कलन गरेको थियो । जेठमा रु एक अर्ब एक करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले जेठको २० गतेसम्म रु १३ करोड ६१ लाख मात्र राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कार्यालयले रु एक अर्ब ७६ करोड अन्तःशुल्क, रु एक अर्ब ३५ करोड मूल्यअभिवृद्धि कर र रु दुई अर्ब एक करोड आयकर सङ्कलन गरेको छ । बन्दाबन्दीका कारण राजस्व सङ्कलन प्रभावित भएको प्रमुख सापकोटाको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement