विद्युत महशुल नउठिरहेको बेला विद्युत खपतसमेत घट्यो, कर्मचारीलाई तलब खानै समस्या

Advertisement

काठमाडौं। लकडाउनका कारण एकातिर विद्युत महशुल संकलन नभइरहेको बेला विद्युत खपतसमेत घटेर नेपाल विद्युत प्राधिकरण दोहोरो मारमा परेको छ । कोरोना (कोभिड १९) महामारी रोक्न सरकारले लागू गरेको लकडाउनका कारण विद्युत महशुल संकलन हुन नसक्दा प्राधिकरणलाई तलव खुवाउनै धौधौ परेको स्थिति छ ।

यही बेलामा विद्युत खपतसमेत उत्पादनअनुसार हुन सकेको छैन् । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले लकडाउनका कारण दुई सय मेगावाट विद्युत खपत घटेको बताए । उनले महशुल संकलन न्यून हुँदा गाह्रो अवस्था रहेको पनि स्वीकार गरे । अधिकारीले भने, ‘लकडाउनका कारण महशुल संकलन नै हुन सकेको छैन् । यसले गर्दा कर्मचारीको तलवदेखि विद्युत उत्पादकहरुलाई रकम भुक्तानी गर्न समस्या परेको स्थिति हो । यद्यपि हामीले प्राधिकरणहरुसँग विभिन्न रकमहरुलाई तानतुन बनाएर अहिलेसम्म व्यवस्थापन गरेका छौं ।’

उनले कर्मचारीको जेठ महिनाको तलव जेनतेन खुवाउन सकिने अवस्था रहे पनि महशुल संकलनमा सुधार नभए अन्य भुक्तानीका लागि समस्या पर्ने बताए । प्राधिकरणले मासिक छ अर्ब रुपियाँ महशुल संकलन गर्नुपर्ने हो । तर लकडाउन अवधिभरमा एक अर्ब रुपिपाँ पनि महशुल संकलन नभएको अधिकारीले बताए । प्राधिकरणले निजी विद्युत उत्पादकहरुलाई विद्युत खरिदवापत मासिक साढे तीन अर्ब रुपियाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

उद्योगदेखि व्यापारिक कम्प्लेक्सहरु बन्द हुँदा लडाउनमा विद्युत खपत दुई तिहाइमात्रै भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत खपत नबढे पनि सम्झौताअनुसार निजी उत्पादकहरुलाई रकम भने भुक्तानी गर्नुपर्ने हुन्छ । यही बेलामा सरकारले विद्युतमा समेत छुट दिने तर त्यसको सोधभर्ना गर्ने कुरा नगर्ने, डेडिकेटेड र ट्रंकलाइनवापतको रकम अशुलउपर हुने कुरा थप अन्योलमा पर्दा प्राधिकरणमाथि नोक्सानीको ठूलो भारी बढ्ने अवस्था देखिएको सो संस्थामा क्रियाशील एक ट्रेड युनियनका नेताले बताए ।

जनतालाई सेवा दिने कुरामा आफूहरुको विमती नरहे पनि प्राधिकरणलाई नै धरासायी बनाउने गरी सरकारले काम गर्न नहुने भन्दै उनले प्राधिकरणलाई आर्थिकरुपमा सबल बन्न नदिने प्रयास भइरहेको बताए । प्राधिकरणले गएको आर्थिक बर्षमा करिव १० अर्ब रुपियाँ नाफा गरेको दावी गरेको थियो । यद्यपि यसमा ट्रंक तथा डेडिकेटेड लाइनवापतको अतिरिक्त महशुलको रकमसमेत जोगिएको छ, उन अशुलउपर हुने कुरा अझै अन्योलमा रहेको छ ।

प्राधिकरणलाई सञ्चालन गर्न जुटाउन दिनप्रति दिन कठिन बन्दै गएको बेला पछिल्ला केही दिनमा भने सर्वसाधारण ग्राहकले महशुल भुक्तानीका लागि चासो देखाएको प्रवक्ता अधिकारीले बताए । उनले लकडाउनका बीच पनि केही महशुल काउन्टरमा ग्राहकको लाइन लागेको बताउँदै लकडाउन खुकुलो भए महशुल संकलनमा सहजता आउने बताए ।

Advertisement

Advertisement