खर्च घटाउन भन्दै शाखाहरु घटाउने बैंकहरुको तयारी

Advertisement

काठमाडौँ । कोभिड–१९ को बहानामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले केही शाखा बन्द गर्ने योजना बनाएका छन् । यसका लागि खुकुलो नीतिगत व्यवस्था गरिदिन उनीहरूले नियामक निकायलाई आग्रह गरेका छन् ।

कोभिड–१९ का कारण घाटामा गएका शाखाभन्दा पनि यही बहानामा राम्रो व्यवसाय नगरेका शाखा बन्द गर्ने बैंकहरूको योजना छ ।

वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले यसबारे लिखित रूपमै राष्ट्र बैंकलाई आग्रह गरेको छ । सञ्चालन खर्च कम गर्न भन्दै धेरै शाखा भएका स्थानमा केही बन्द गर्न खुकुलो नीतिगत व्यवस्थाका लागि आग्रह गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउनका लागि शाखा संख्या बढी भएका स्थानमा रहेका शाखा कार्यालय बन्द गर्नका लागि गर्नुपर्ने प्रक्रिया सरलीकृत गरिनु उपयुक्त हुने,’ बैंकर्स संघले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ । आगामी मौद्रिक नीतिमा सुझाव दिने क्रममा संघले यस्तो माग गरेको हो । यसअघि सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि लागत घटाउन शाखा बन्द गर्न पाउने सुझाव दिएको थियो ।

लकडाउन सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा पनि खर्च (लागत) घटाउने क्रम सुरु भएको छ । बैंकका कुन–कुन क्षेत्रमा खर्च घटाउन सकिन्छ भनेर बैंकर्स संघले अध्ययन पनि गरेको छ । अध्ययन पूरा भइनसके पनि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनमा लागत कम गर्ने विभिन्न विकल्पमध्ये शाखा घटाउने पनि एक छ । सोही सुझावका आधारमा अनावश्यक देखिएको स्थानका शाखा बन्द गर्न सक्ने अधिकार सम्बन्धित बैंकलाई नै दिन आग्रह गरिएको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए ।

‘राष्ट्र बैंकको निर्देशनअनुसार दुर्गम स्थानमा खोलिएका शाखा बन्द गर्ने भनिएको होइन,’ उनले भने, ‘सहरी क्षेत्र जहाँ एकै स्थानमा धेरै बैंकका शाखा छन् । तीमध्ये केही बन्द गर्दा पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु पर्दैन । ती शाखा बन्द गर्दा खर्च कम हुन्छ भन्ने हो ।’ स्थानीय तहमा खुलेका धेरै शाखा घाटामा भए पनि ती बन्द नहुने उनले प्रस्ट्याए । शाखा बन्द हुँदा पनि त्यहाँका कर्मचारीलाई जागिरबाट ननिकालिने, तिनलाई अन्य शाखामा समायोजन गरिने उनले बताए । कोभिडका कारण बैंकहरूको खर्च घटाउनुपर्ने भएकाले अनावश्यक शाखा बन्द गर्ने प्रस्ताव गरिएको उनको भनाइ छ । ‘अहिले नीतिगत व्यवस्थाका लागि मात्र आग्रह गरिएको हो,’ उनले भने, ‘त्यसपछि कुन शाखा करिब बन्द गर्ने भन्नेबारे मोडालिटी बनाइने हो ।’

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement