बाढी पहिरोले ५० जनाको ज्यान गयो, सयौं परिवार विस्थापित, राजमार्गदेखि विद्युत आयोजनासम्म प्रभावित

Advertisement

काठमाडौं । पछिल्ला दुई दिनमा भारी बर्षासँगै आएको बाढि, पहिरोमा परी ५० जनाको ज्यान गएको छ भने साढे दुई सयभन्दा बढि परिवार विस्थापित भएको छ । करोडौं रुपियाँको सम्पत्ति पनि नष्ट भएको समाचार छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार वैशाख १ देखि शुक्रबारसम्म देशभर बाढी पहिरोका १६३ वटा घटना भएका छन्, जसमा ५० जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता छन् । घाइतेहरुको संख्या दर्जनौं छ ।

पहिरो र बाढीका कारण ९१ घरमा क्षति पुग्दा १२ करोड ८३ लाख छ हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको छ । पहिरोबाट २६५ परिवार प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागले बुधबार विज्ञप्तिमार्फत सोही दिन रातिदेखि मनसुन सक्रिय भई बाढि पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

बुधबार राति नै बाढीले बितण्डा मच्चाएको थियो । शुक्रबारसम्म कास्की, लमजुङ, पर्वत, म्याग्दी, जाजरकोट, दोलखा, सिन्धुलीका थुप्रै स्थानमा गएको बाढी पहिरोले दर्जनौंको ज्यान गएको छ । यो बर्ष वैशाखदेखि नै पानी परेकाले पनि माटो कमजोर भएको र पछिल्लो बर्षाले बढि बाढी पहिरोको समस्या देखिएको विज्ञहरुको भनाई छ । ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध भएका छन भने पशुपक्षीहरु पनि पुरिएका समाचारहरु छन् । बाढी पहिरोले कतिपय जलविद्युत आयोजनालाई समेत प्रभावित बनाएको छ ।

Advertisement

Advertisement

Advertisement