कोरोना बीमाको दावी भुक्तानीमा आनाकानी

Advertisement

काठमाडौं । कोरोना भाइरस बीमा (कोभिड–१९ बीमालेख) को दाबी भुक्तानीमा ढिलाइ भएको भनी निकै आलोचनापछि अन्ततः त्यसलाई एकद्वार प्रणालीमार्फत गर्ने तयारी गरिएको छ । भुक्तानी हुन बाँकी र अब आउन सक्ने दाबीको भुक्तानीलाई एकद्वार प्रणालीबाट गर्न लागिएको हो ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको बीमितहरूको गुनासो बढेपछि समितिले दाबी भुक्तानीलाई सरल र छिटो गर्न एकद्वार प्रणाली बनाउन लागेको हो । यस विषयमा आवश्यक तयारी भइरहेको समितिको भनाइ छ ।

Advertisement

आगामी सातादेखि नै दाबी भुक्तानीमा एकद्वार प्रणाली लागू गरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बीमा समिति शिल गरिएको छ । आगामी आइतवारदेखि भने कार्यालय खोल्ने योजना छ,’ उनले भने, ‘सम्भवतः आइतवार सोमवारदेखि नै यसलाई लागू गर्छौं ।’ यो व्यवस्था लागू भएपछि दाबी भुक्तानी हुन बाँकी र अब पर्ने दाबीको भुक्तानी एकद्वार प्रणालीबाट गरिनेछ । निर्जीवन बीमा कम्पनीहरूले यो बीमालाई लघुबीमा पुलमार्फत सञ्चालन गरेका छन् । त्यसको संयोजन भने नेपाल बीमक संघले गरेको छ । बीमा गर्ने काम एकद्वार प्रणालीमा भएको छ ।

तर, कम्पनीहरूले आफूले गरेको बीमितलाई छुट्टाछुट्टै रूपमा दाबी भुक्तानी दिँदै आएका छन् । त्यसको सेटलमेन्ट भने संघमा नै गराउँदै आइएको छ ।

त्यसरी भुक्तानी गर्दा दाबी दोहिरिन पनि सक्ने भएपछि एकद्वार प्रणाली लागू गर्न लागिएको समितिको भनाइ छ । यस्तै, नक्कली रिपोर्टसमेत सदर भएर दाबी भुक्तानी हुन सक्ने सम्भावना रहन्छ । कम्पनीमा आवेदन आएपछि त्यो पुल अर्थात् बीमक संघबाट स्वीकृति लिनुपर्ने हुन्छ । फलस्वरूप दाबी प्रक्रिया लामो र झन्झटिलो भएपछि दाबी भुक्तानीमा हुन ढिलाइ हुने गरेको थियो । अब एकद्वार प्रणाली लागू गरेपछि दाबी भुक्तानी समयमा नै हुन सक्ने समितिको विश्वास छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement