सरकारी अस्पतालहरुको अवस्था दयनीय, न जनशक्ति न न्युनतम् सुविधा

Advertisement

काठमाडौं । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।

भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन ।

Advertisement

भैरहवास्थित भीम अस्पताल करारमा नियुक्त डाक्टरको भरमा चलिरहेको छ । विद्यार्थीलाई करारमा भर्ना गरेर विशेषज्ञ डाक्टरको आवश्यकता पूरा गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताइन् । 

पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई कोभिड अस्पताल बनाएको थियो । त्यससँगै करारमा डाक्टर भर्ना गरेर अस्पताललाई व्यवस्थित गराउन थालिएको मेडिकल सुपरिटेन्डेन्ड डा. गुप्ताको बताइन् । अस्पतालमा उपलब्ध उपकरणअनुसार सबै परीक्षण हुने गरेको सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । ‘ल्याबमा स्थायी कर्मचारी नै छन्, अस्पतालमा परीक्षण गराउन आउने बिरामीहरूको सुरुको सबै परीक्षण गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, सरकारले उपलब्ध गराएका ७३ वटै निःशुल्क औषधि अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पोख्रेलले बताए । 

जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन । अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् । 

सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ ।

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement