महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन अपेन र माछापुछ्रे बैंकबीच सम्झौता

काठमाडौं । एशोसियन अफ प्रिस्कुल एडुकेटर अफ नेपाल (अपेन)सम्वद्ध महिला उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन अपिन र माछापुछ्रे बैंकबीच सम्झौता भएको छ । 

सम्झौतापत्रमा अपेनका अध्यक्ष बद्री दाहाल र बैंकका कर्पोरेट एण्ड इन्फ्रास्ट्रक्चर ल्याण्डिङ विभागका प्रमुख सुवाश जमरकट्टेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले अपेनमा आवद्ध महिला उद्यमीहरुलाई चारदेखि पाँच प्रतिशत ब्याजदरमा एक लाख रुपियाँदेखि १५ लाख रुपियाँको सहुलियत कर्जा उपलब्ध गराउने छ । 

अपेनका केन्द्रीय सचिव उमानाथ निरौलाले यस सम्झौताबाट अपिनमा आवद्ध बाल विद्यालय तथा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय अघि बढाउन निकै सहयोग पुग्ने आफूहरुको आशा रहेको बताए । 

उनले यस्तो सहुलियत कर्जा उपलब्ध गराउन आवश्यक कागजी प्रक्रियाका लागि इम्पायर फाइनान्सियल सर्भिसेज, शान्तिनगर, काठमाडौंले काम गर्ने बताउँदै पुरुष उद्यमीहरुलाई पनि यस्तो सहुलियत कर्जाका लागि अपेनले पहल गरिरहेको बताए । यस सम्झौताबाट अपेनमा आवद्ध पाँच सय महिला उद्यमीहरुले सहुलियत कर्जा प्राप्त गर्नसक्ने आफूहरुको अनुमान रहेको निरौलाले बताए ।