विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपियाँको ऋण सम्झौता

Advertisement

काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपियाँ (अमेरिकी डलर १५६ मिलियन बराबर)को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

Advertisement

सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने,  विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपियाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एडिबी र बाँकी चार अर्ब ५६ करोड रुपियाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ । 

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । 

यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण हो ।

Advertisement

Advertisement