प्रचण्ड–माधव समूहले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्यो

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निकालेको छ । उक्त समूहको आइतबारको स्थायी कमिटि बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

उक्त समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने भनेर यसअघि नै निर्णय गरिसकेकोमा आज साधारण सदस्यबाट निकालेको बताएको छ । ओलीलाई अध्यक्षबाट हटाइएपछि माधव नेपाललाई सो ठाउँमा अध्यक्ष बनाइएको सो समूहले बताएको थियो । 

Advertisement

ओलीलाई अनुशासनको कारवाही गर्ने क्रममा यही गएको माघ ३ गतेको स्थायी कमिटि बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रचण्ड–माधव समूहले आज स्पष्टिकरणको जवाफ नआए पनि उनलाई पार्टीबाट हटाउने निर्णय गरेको छ । 

ओलीले स्पष्टिकरणको जवाफ नदिएकाले केन्द्रीय कमिटिले दिएको अधिकार प्रयोग गरेर उनलाई निस्काशन गर्ने निर्णय गरिएको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको थियो । 

स्थायी कमिटि बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ ।

भोलि नै संघर्ष समितिमार्फत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement

Advertisement