फ्रिक्वेन्सी, स्याटलाइट र सेक्युरिटी प्रेसको कुरा आयो कि कर्मचारी तर्सिन्छन्, किनहोला ?

Advertisement

काठमाडौं । सुचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले फ्रिक्वेन्सी, स्याटलाइट र सेक्युरिटी प्रेसको कुरा गर्दा कर्मचारीहरु तर्सिएर टिप्पणी उठाउने र सही गर्नै नमान्ने परिस्थिति रहेको खुलासा गरेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको २६औं बार्षिकोत्सवमा बिहीबार उनले भने, ‘यस्तो हो भने त न स्याटलाइट ल्याउन सकिन्छ, न सेक्युरिटी प्रेस राख्न सकिन्छ, न फाइभजी प्रयोग गर्न सकिन्छ ।’ गुरुङले अन्य मुलुकमा फ्रिक्वेन्सी अभाव भइरहेको बेला नेपालमा यसलाई प्रयोग गर्न नसकिएको बताउँदै त्यसलाई प्रयोग गर्न खोज्दा कर्मचारी तर्सिएर काम हुन नसकेको बताए । 

Advertisement

राम्रो काम गर्न किन डराउनुपर्ने परिस्थिति आयो ? भन्दै उल्टै उनले प्रश्न गरे । गुरुङले जुन कुरा आवश्यक पनि छ भन्ने तर कार्यान्वयन गर्न पनि डराउने ? भन्दै राजनीतिक दलमा गुट भएजस्तै हरेक सरकारी निकायमा कर्मचारीहरुको गुटबन्दी रहेको खुलासा गरे । कर्मचारीबाट एउटाले राम्रो काम गर्न लाग्यो भने अर्को गएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने र पत्रिकालाई समाचार दिने गरेको उनको भनाई छ । 

मन्त्री गुरुङले नराम्रो काम गर्न चाहीं अग्रसर हुने तर राम्रो काम गर्नुपर्दा भने पछि हट्ने प्रवृत्ति कर्मचारीमा रहेको भन्दै कतै विवादमा परेर बढुवा नै रोकिने हो कि भनेर तर्सिएर बर्षौंसम्म फाइल अडकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । 

गुरुङले दूरसञ्चार पूर्वाधार निर्माणका लागि बनाउन लागिएको कम्पनी निर्माणका विषयमा रहँदै आएको विवादको समाधान चाँडै गरिने बताए । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहले आफूहरुका लागि छुट्टै पूर्वाधार कम्पनी निर्माण गर्नुपर्ने आवाज उठाइरहेको बेला सार्वजनिक (नेपाल टेलिकम) र निजी दुवै क्षेत्रलाई सहज हुनेगरी एउटै कम्पनी निर्माणका लागि पहल भइरहेको बताए । 

गुरुङले कसरी इन्टरनेट सेवालाई कम खर्चिलो बनाउने ? ब्याण्डविथलाई कसरी एकद्धार प्रणालीमा ल्याउन सक्छौं ? कसरी यसलाई गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेको बताउँदै उनले भने, ‘सरकारलाई दुईवटा तीन वटा कम्पनी बनाउन कुनै समस्या होइन्, तर हामी दीर्घकालिन हिसावले काम गर्नुपर्छ भन्ने सोचमा छौं ।  

इन्टरनेट सेवा प्रदायकपिच्छेका तारहरु पोलमा झुण्ड्याएर जानेपक्षमा सरकार नरहेको बताउँदै उनले धेरै निकायमा एउटाले सडक खन्ने, अर्कोले भत्काउने, सडकभरी तार लथालिंग बनाउने जस्ता कुराले शहर कुरुप बनेको बताए । 

अर्कोतर्फ सरकारी कम्पनीको खरीद प्रक्रियाका कारण आफूहरुको कार्यक्षमता नबढ्ने र प्रतिस्पर्धी हुननसक्ने चिन्ताप्रति आफूहरु सचेत रहेको गुरुङले बताए । उनले निजी क्षेत्रको भावना पनि सम्बोधन हुनेगरी छिटोभन्दा छिटो पूर्वाधार निर्माण कम्पनी बनाइने बताए । मन्त्री गुरुङले यसलाई पहिलो प्राथमिकतामा राख्न पनि निर्देशन दिए । उनले कम्पनी निर्माणमा जति ढिलाई हुन्छ, त्यति समस्या थपिने भएकाले छिटोभन्दा छिटो कम्पनी निर्माण गरिने बताए । 

इन्टरनेट सेवालाई सर्वसुलभ बनाउने र डिजिटल नेपाल निर्माणको सरकारी लक्ष्य हासिल गर्न पनि यस्तो कम्पनी सक्दो चाँडो निर्माण जरुरी रहेको मन्त्री गुरुङको भनाई थियो । साथै, उनले ग्रामिण दूरसञ्चार कोष तथा नेपाल सरकारबाट हाल निर्माण भइरहेको पूर्वाधार नेपाल टेलिकमले प्रयोग गर्यो भने अर्को इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्न नपाउने, अरु इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्यो भने नेपाल टेलिकमले प्रयोग गर्न नपाउने अवस्था रहेको भन्दै यो अन्योलतालाई नहटाउने हो भने ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने योजना बाधा पुग्ने बताए । 

प्राधिकरणले वर्तमानमा राम्रो काम गरे पनि विगतमा गरेका कामको समीक्षा हुनुपर्ने मन्त्री गुरुङको तर्क छ । उनले फोरजीलाई पनि विस्तार गर्दै फाइभजीका लागि काम अघि बढाउनुपर्ने बताए । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा उपनिर्देशक संदीप अधिकारी र अन्य कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

Advertisement

Advertisement