Advertisement

राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष मात्रै नभएर पछिल्लो समयमा सेयर बजारकी सेलिब्रेटी बन्दै गएकी छन् । संस्थागत प्रतिनिधित्व गर्ने क्रममा सरकारी गैरसरकारी निकायदेखि तालिम र प्रशिक्षणमा जिल्ला जिल्लामा दौडिनुपर्ने बाध्यताका कारण  उनलाई फुर्सद निकाल्न निकै मुस्किल हुने गरेको छ । सेयर बजारमा पछिल्ला दिनमा देखिएका पछिल्ला प्रवृत्तिबारे कर्पोरेट नेपालसँगको पोखरेलको कुराकानीको केही अंशः 

तपाई पुँजी बजारको एउटा लगानीकर्ता । पछिल्ला दिनमा बजारमा निकै उत्तार चढाव आइरहेको छ । यसको खास कारण चाँहीं के हो ?
सेयर बजार भनेको सधैं घट्ने पनि हुँदैन, सधै बढ्ने पनि हुँदैन । बजार घट्बढ् हुनु भनेको बजारको एउटा सुन्दरता पनि हो । कोरोना महामारीभन्दा अगाडी सेयर बजार तगातार चार वर्षसम्म घटेको अवस्थामा थियो । विभिन्न कुराले असर गरेका कारण पनि त्यो बेला बजार घट्यो । पछिल्लो समय बजार माथि जानुको कारण कोरोना महामारीले गर्दा अन्य सेक्टरहरु प्रभावित भए । जसले गर्दा लगानीकर्ताले लगानी गर्ने एकमात्र थलो बन्यो सेयर बजार । कोरोना महामारीको समयमा फुर्सद भएका व्यक्तिले पुँजी बजारको बारेमा राम्रोसँग बुझ्ने मौका पाए । यस समय बैंकमा तरलता प्रयाप्त रुपमा थियो । यसले गर्दा पनि यो पैसा कहाँ जाने त ? भन्दा पुँजीबजार नै विकल्पको रुपमा रह्यो । त्यो सँगै बजारमा जो पर्ख र हेरको अवस्था रहेका हुन्छन्, त्यस्ता संस्थागत लगानीकर्ताको प्रवेश भयो । यसकारण पुँजी बजार ११ सय बिन्दुबाट बढेर २६ सय बिन्दुसम्मको यात्रामा आयो । 

Advertisement

जुन ढंगले पुँजीबजार अस्वभाविक रुपमा बढ्यो । फेरि अस्वभाविक रुपमा घट्दै छ । तपाईंले कसरी लिनु भएको छ ? 
एक वर्ष अगाडी जम्मा १५ लाख लगानीकर्ता थिए । अहिले लगभग ३० लाख माथि पुगेका छन् । पक्कै पनि १५ लाखबाट ३० लाख पुग्दा लगानीकर्ता थपिए । त्योसँगै पैसा कहाँ जाने त ? भन्दा पैसा अन्य सेक्टर बन्द भएको कारण पुँजीबजारमा आयो । यसले गर्दा दुई अर्बबाट १० अर्बसम्मको पनि दैनिक कारोबार भयो । पछिल्लो समय बजारमा थोरै करेक्सन आएको छ । 

बजारमा करेक्सन आउनुको कारण अहिलेको राजनीतिक अवस्था, तरलताको कुरा, समय–समयका फैलिने पुँजीबजारको बारेमा नकारात्क टिप्पणीहरु र नियामक निकायले यस क्षेत्रप्रति कस्तो दृष्टिकोण राखेको छ ? यसले पनि बजारलाई असर गरेको हुन्छ । अहिलेको अवस्था पनि पर्ख र हेरको अवस्था छ । यसकारण पनि बजारमा करेक्सन आएको छ ।

हुनत, तपाईंले बजारको करेक्सन भन्दै हुनुहुन्छ । यस्तो करेक्सनमा टाठाबाढा र ठूला लगानीकर्ताले नाफा कमाईहाल्ने, जो करजोर छन् जो बजारमा खेल्न जान्दैनन् उनीहरुलाई त पार पर्ने भयो नि ?
 बजार बढेको बेला ठूलाले मात्र हैन सबैले फाइदा लिरहेका हुन्छन् । होला कुनै लगानीकर्ताले गुमाइरहेका पनि । लगानीकर्ताले कति पैसा लगानी गरेको छ ? त्यही अनुसार नाफाघाटा हुने हो । आफ्नो लगानी अनुसारको नाफाघाटा सबैलाई हुन्छ । बजारमा चलखेको कुराहरु आइरहँदाखेरी पुँजी बजार जहिले पनि पहुँचवालाको हातमा हुन्छ । यसले गर्दा थोरै चलखेल त बजारमा छ । हाम्रो पुँजीबजारमा के छ भने बजार बढेसँगै लगानीकर्ताले बजारमा प्रवेश गर्ने र घट्न थालेपछि आत्तिएर बेच्ने । यसकारण पनि लगानीकर्ताको लगानी जोखिमा हुन्छ ।  

लगानीकर्ताले लगानी गर्दा भोलि गएर बजार घट्छ है भन्ने सोचेर लगानी गर्दैन् । बजार बढेको सूचकलाई हेरेर लगानी गर्छ । कम्पनी छनोट गर्दा राम्रा कम्पनी छनोट गर्न सक्दैनन् । जुन कम्पनीको नाफा बढि रहेको हुन्छ, त्यसमै लगानी गछौं । यसकारण पनि लगानीकर्ताको लगानी जोखिममा रहेको छ । यस्तै–यस्तै कुराले गर्दा जो बजारमा नबुझी आएका लगानीकर्ताहरु हुन्छन् । उनीहरुको लगानीको जोखिम एकदमै हुन्छ । 

एउटा लगानीकर्ताको नेतृको नाताले साना र कमजोर लगानीकर्ताको हितका लागि के कस्तो भूमिका खेल्नु भएको छ ? 

मैले २०७५ साल साउन २ गतेबाट नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्षको भूमिका सम्हाल्दै गर्दा पुँजीबजार एकदमै निराशाजनक रहेको थियो । जो बजारमा प्रवेश गरेका थिए ती सबै बजारबाट पलायन हुने अवस्था आएको थियो । 

लगानीकर्ताले लगानी गरेको पैसा २५ प्रतिशत पनि बजारमा थिएन । यसले गर्दा लगानीकर्तामा चरम निराशा छाएको थियो । जब मैले अध्यक्षको पद सम्हालें, तब हाम्रो संगठनद्धारा सातै प्रदेशमा संगठन विस्तार गरियो । हामी हरेक जिल्ला र हरेक प्रदेशमा पुगेर लगानीकर्ताहरुलाई विभिन्न खालको तालिम पनि दिने गरेका छौं । यसकारण जो पुँजी भएर पनि बजार आउन सकिरहेको थिएनन् त्यस्ता लगानीकर्ता पनि बजारमा आएर कारोबार गर्न सफल भएका छन् ।

थप कुराकानी भिडियोमा: 

Advertisement

Advertisement