हे बाबा ! कति पटक राजीनामा माग्छौ ? अविश्वासको प्रस्ताव ल्याएर हटाउ नः ओली

Advertisement

काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन फेरि चुनौति दिएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भका अवसरमा शनिबार उनले उक्त चुनौति दिएका हुन् । 

माओवादी केन्द्रपछि नेपाली काँग्रेसले समेत राजीनामा मागेपछि ओलीले अविश्वास प्रस्ताव ल्याएर हटाउन सुझाव दिए । आफूले राजीनामा नदिने उनको संकेत थियो । 

Advertisement

ओलीले ढिलो चाँडो जनादेशमा नगईकन देश सहजरुपमा अघि बढ्न नसक्ने बताउँदै भने, ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ।’ 

उनले थपे, ‘ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु । लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन । अनि राजीनामा माग्छन् ।’

आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने ओलीको संकेत छ । उनले आफूले राजीनामा माग्दैमा नदिने बताए । ओलीले पटक पटक चुनौति दिँदा पनि माओवादी केन्द्रले मसर्थन फिर्ता लिएको छैन् । 

उनले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर मिडियाप्रति असन्तुष्टि पोखे । ओलीले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको गुनासो गरे । 

उनले भने, ‘दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन् ।’ कार्यक्रममा ओलीले १६५ सडकको एकैपटक शिलान्यास गरेका थिए । 

Advertisement

Advertisement