घिरौंला झुण्डिएको जस्तो सडकमा नेपाल टेलिकमको अव्यवस्थित तार अब भेटिन्नः अधिकारी

Advertisement

कोरोना महामारीले उग्ररुप लिँदै जाँदा पनि नेपाल टेलिकम सेवा प्रवाहमा कमजोरी हुन नदिन लागि परेको छ । कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी आफूहरू गुणस्तरीय सेवा प्रवाहमा कुनै सम्झौता नगर्ने बताउँछन् । अत्यावश्यक सेवाको रुपमा रहेको सञ्चार सेवा सहज र सुलभरुपमा उपलब्ध गराउन र कम्पनीले अघि बढाएका योजनाहरूलाई पनि निरन्तरता दिन प्रतिकुलतामा पनि आफूहरू लागिरहेको उनको भनाई छ । प्रवन्ध निर्देशक (एमडी) अधिकारीसँग कर्पोरेट नेपालका नबिन पोखरेलले गरेको अन्तरवार्ताः 

नेपाल टेलिकमको नाफा निरन्तर घटिरहेको छ नि । कारण के हो ? 
कम्पनीको वित्तीय सूचकमा हेर्ने हो भने अघिल्लो बर्षको लकडाउन र कोरोना महामारीले हाम्रो सञ्चालन आयमा अलिकति नकारात्मक असर पार्यो । अघिल्लो पटक चैत महिनाबाट लकडाउन सुरू भएको थियो । वर्षको कुल आम्दानीको ५० प्रतिशतभन्दा बढि त फागुन पछाडि आउँछ । त्यही अवधिमा कोरोना महामारीको प्रभाव पर्यो । अर्को कुरा भनेको हामो कुल आम्दानीको हिस्सामा केही रकम मुद्दती बचतबाट पनि आउँछ । अघिल्लो आर्थिक वर्षमा ब्याजदर १० प्रतिशतभन्दा बढि थियो । कोरोना महामारी आएपछि त्यो छ–साढे छ मा झर्यो । त्यसले पनि आम्दानीमा प्रभाव पार्यो ।

Advertisement

त्यस्तै, हाम्रो आम्दानीको मुख्य स्रोत भनेको अन्तर्राष्ट्रिय रोमिङ हो । त्यसमा अन्तर्राष्ट्रिय भ्वाईस कल पनि पर्छ । कोरोना महामारीका कारण मानिसहरूको चहलपहल नै कम भयो । चहलपहल कम भएपछि आम्दानी पनि आएन । साढे चार लाख नेपाली फर्किए । विदेशका काम नहुँदा कल पनि छुट्दै जान्छ । निषेधाज्ञाको समयमा नेपालमा मात्र नभई विश्व दूरसञ्चार क्षेत्रमा यसको प्रभाव परेको छ । 

नेपाल टेलिकमको प्रयोगकर्ता चाहीं बढिरहेका छन् । हरेक महिना भ्वाइस कल र डाटा प्रयोगकर्ता बढेको देखिन्छ । तर आम्दानी घट्दा नराकात्मक सूचकतर्फ जाँदैन कम्पनी ?
एक वर्ष अगाडि हामीले प्रतिएमबी डेटा प्याकेजमा १० पैसाभन्दा धेरै चार्ज गथ्र्यों । अहिले सो शूल्क साढे तीन–चार पैसामा झरेको छ । त्यसरी नै हाम्रो ८०–९० पैसाका भ्वाईस प्याकेजहरू अहिले ३०–४० पैसाको हाराहारीमा झरिसकेको छ । यसले खपत बढाए पनि दर चाहीं घटेको छ । नेपालमा मूल्य घटेको भनेको दूरसञ्चार सेवाको हो । ग्राहकलाई सस्तो सेवा दिँदा त्यसको प्रभाव पनि बढ्छ । त्यसले आम्दानीमा पनि असर पार्दैन । दोस्रो त्रैमासदेखि हाम्रो आम्दानीमा सकारात्मक लक्षण सुरू भएको छ । अहिले यो तेस्रो त्रैमासको फाइनान्सबाहेकका मात्रै आम्दानीलाई हेर्दा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा छ प्रतिशतभन्दा बढिले आम्दानी बढेको छ । तर अहिले फेरि सुरु भएको लकडाउनले त हामीलाई असर पार्छ । पहिले लकडाउन अघिको हाम्रो दैनिक बिक्री जे जस्तो थियो, लकडाउन पछि त्यो स्वाट्टै घट्न पुग्यो । अझ लकडाउन जतिजति कडा हुँदै गएको छ, त्यति नै सेल्स घट्दै गएको छ ।

अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटेको छ । तर ओटीटी बढेको छ नि । किन हो ?
नेपालमा जब डेटा नेटवर्कको पहुँच वृद्धि हुँदै जान्छ, तब ग्राहकहरूसँग स्मार्ट फोन बढ्दै जान्छ । त्यसपछि फेसबुक, भाईबर, इमोको प्रयोग पनि बढ्छ । ओभर द टप (ओटीटी)मार्फत सबै कामहरू भईरहेको छ । अहिले त लोकल कल पनि भाईबरमार्फत नै हुन्छ । अब हामीले पनि त्यसलाई डाटाबाटै कभर गर्नुपर्छ । अहिलेको हाम्रो बजार हेर्ने हो भने ३५ प्रतिशत मात्रै डाटाले कभर गरेको अवस्था छ । बाँकी त सबै भ्वाईसबाटै हो । भ्वाईसलाई डाटाले परिमार्जन गर्न त केही समय लाग्छ । नेपाल टेलिकमलाई अन्य सेवा प्रदायकसँग तुलना गर्ने हो भने चाहीं लकडाउनले कम असर पारेको छ । टेलिकमका ग्राहकको संख्या बढेको कारणले पनि असर कम परेको हो । बिस्तारै फोरजी नेटवर्क देशका सबै ठाउँमा पुग्दा हाम्रा सक्रिय ग्राहक धेरै नै बढ्छन् ।

डाटाबाट हुने आम्दानीको अवस्था कस्तो छ नि ?
डाटाबाट भएको आम्दानी उत्साहजनक नै छ । गत वर्षको तुलनामा डाटाबाट हुने आम्दानीको अवस्था धेरै राम्रो छ । डाटाको वृद्धि तीन–चार सय प्रतिशतले भएको छ । टोटल डाटाको ८० प्रतिशत हिस्सा फोरजीले कभर गरेको छ । फोरजीको ग्राहक संख्या, सस्क्रिप्सन र प्रयोग बढ्दै जान्छ । सोही कारण हाम्रो डाटाको आम्दानी चाहीं बढेको छ ।

टेलिकमले भ्वाइसको लाइसेन्सको लागि २० अर्ब रुपियाँ बुझाउनुपर्छ । अब यसलाई परिमार्जन गर्ने बेला भएन ?
यसलाई दूरसञ्चार प्राधिकणले परिमार्जन गर्नुपर्ने हो । यो दूरसञ्चार ऐन, २०५३ मा भएको व्यवस्था हो । हाम्रो हातमा त यो छैन । अब दूरसञ्चार बजारमा बिक्ने भनेको डाटाको सेवा मात्र हो । चाहे त्यो आईएसपी हुन वा अरु हुन । तर यसमा समस्या कहाँ नेर छ ? भने दूरसञ्चार अपरेटरले २० अर्ब रुपियाँ पनि तिर्नुपर्छ । स्पेक्टमको पैसा पनि तिर्नुपर्ने हुन्छ । आईएसपीले त २० अर्ब रुपियाँ तिर्नुपर्दैन । स्पेकटम त उनीहरूले प्रयोग गर्दैनन् । आईएसपीले तीन लाख रुपियाँमा नै सुविधा पाउँछन् । तर सबैले गर्ने काम त एउटै हो । यसलाई परिमार्जन गर्नुपर्छ भनेर हामीले प्राधिकरणलाई पनि भनेका छौं । 

एफटीटीएच बिस्तारमा नेपाल टेलिकम कमजोर जस्तो देखिन्छ नि ?
अहिले हाम्रो सक्रिय ग्राहक धेरै छन् । एफटीटीएचमा ग्राहकहरूको आकर्षण हाम्रो छ । सबैभन्दा अगाडि हामी छौं । हरेक महिनाको विवरणमा हामी अगाडि छौं । प्राधिकरणको तथ्यांक हेरेर जो कोहीले त्यो सजिलै थाहा पाउन सक्ने पनि कुरा हो । अहिले हामीले नेटवर्कका लागि अन्डरग्राउण्ड केबलमा जोड दिएका छौं । अरु अपरेटरहरूले, आईएसपीहरूले त्यस्तो गरेका छैनन् । उनीहरूले लथालिङ पारेर तार राखेको हामीले देख्न सक्छौं । बाटोमा घिरौला झुण्डाएको जसरी नेपाल टेलिकमको तार अहिले अव्यवस्थित अवस्थामा भेटिदैन ।

फोरजीको मूल्यांकन नगरी नेपाल टेलिकम फाएभजीको बिस्तारमा लागेको हो त ?
फोरजी र फाएभजीको प्रकृति नै फरक छ । हामीले यसलाई ल्याउन लागेको बजारीकरणको पाटोमा पनि फरक छ । फोरजी भनेको हरेक ग्राहकको लागि हो । फाएभजी भनेको कार्यालयका लागि केन्द्रित हो । अहिले विश्वमा जहाँ फाएभजी ल्याइएको छ, त्यहाँ नाफा कमाउनका लागि ल्याइएको छैन । फाएभजी भनेको त मिसिनबाट मिसिनले सञ्चार गरे जस्तो हो । हामीले नेपालमा कुन क्षेत्रमा फाएजी आवश्यक छ, कुन स्पेकटम चाहिँ यसको लागि उपयोगी हुन्छ भनेर हामीले हेर्छौं । त्यस पछाडी मात्रै फाएभजी कसरी अघि बढ्छ भन्ने थाहाँ हुन्छ । अहिले त फाएभजीको परीक्षण हुन नै बाँकी छ । 

फोरजीको नाफा र लगानी त पक्कै मूल्यांकन गर्नुभएको होला नि ?
फोरजीको लागि हामीले अधिकांश जोड पूर्वाधारमा नै दिनुपर्यो । कुल प्रोजेक्टको लगभग आठ अर्ब रुपियाँ पैसा त पूर्वाधार निर्माणलाई नै छुट्याउनुपर्ने अवस्था रहेको छ । पूर्वाधारमा टावर, पावर सिस्टम, सोलारलगायतका खर्च गर्नुपर्यो । त्यस्ता पूर्वाधार फेरि अहिले एक दुई वर्षको लागि मात्रै नभएर आउने पुस्ताका लागि समेत उपयोगी हुने कुरा हो । पूर्वाधारभन्दा बाहेकमा हामीले १०–११ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । अहिले जडान गरिएका पूर्वाधार भोलि फाएभजीका लागि पनि उपायोगी हुनसक्छ । त्यस्तै, भोलि फोरजीकै भर्सनमा पनि यी पूर्वाधार थप उपयोगी बन्दै जानसक्छन् । भोलि लिजमा पनि हामीले आफ्नो पूर्वाधार दिनसक्ने बाताबरण बन्नसक्छ ।

फाएभजी बिस्तारमा नेपाल टेलिकम हतारियो भन्ने कतिपयको तर्क छ । तपाईं के भन्नुहुन्छ ?
अहिले पनि टूजी चलाउने ग्राहकहरू पनि त धेरै हुनुहुन्छ नि । हाम्रो आम्दानीको करिब ७० प्रतिशत हिस्सा त भ्वाईस कलले नै धानेको अवस्था छ । भ्वाईस आउने भनेको त टूजी, फोरजीबाट त हो नी । अब नेपाल टेलिकमलाई यस्तो धेरै आम्दानी छाडेर किन फोरजीतर्फ लागेको ? भन्न मिल्दैन । त्यसरी नै फाएभजीमा किन गएको ? भन्न सुहाउँदैन । व्यवसायको हरेक सेग्मेन्टलाई हामीले अनुभव गर्दै जानुपर्छ । अहिले हामीले हरेक जनतालाई टूजी आवश्यक छ भनेका छौं । तर फाएभजी चाहीं हामीले प्ररीक्षण मात्र गर्ने भनेको हो । सबैले फाएभजी अनिवार्य चलाउनुपर्छ हामीले भनेका छैनौ । विश्वमा भित्रिएका नयाँ नौला प्रविधिको प्रयोगमा नेपाल टेलिकम अगाडि हुनुपर्छ भनेर फाएभजी परीक्षण गर्न चाहेका हौं । सुरुमा फाइभजी ल्याउँदा यो महङ्गो हुन जान्छ । ग्राहक नै तयारी अवस्थामा नभएको बेलामा हामीले यसलाई नाफा कमाउन ल्याउन लागेको भन्न पनि त त्यति सान्दर्भिक देखिदैन होला नि !

मोवाईल–पे कहिलेबाट सुरूवात हुन्छ ?
मोवाईल–पे सम्भवतः आगामी एक महिनाबाट सुरू हुन्छ । यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ । अहिले हामीले मोवाइल–पेको परीक्षण गरिरहेका छौं । परीक्षण चाहीं विभिन्न बैंकहरूसँग यो जोडिने भएकाले हामीले सहकार्यका गर्न आवश्यक हुन्छ । बैंकसँग सहकार्य गर्दा त्यहाँ पैसाका कुराहरू हुन्छन् । सोही अनुसारका यसको मूल्यांकन गर्नुपर्ने कुराहरू हुन्छन् । ग्राहकहरूलाई यो कति लाभदायी हुन्छ ? भन्ने कुराहरू छन् । सोहीअनुसार हामीले मिसिनसँग पनि अभ्यस्त बन्दै जानुपर्ने हुन्छ । भुक्तानी प्रदायकसँग पनि हामीले सहकार्य गर्न जरुरी हुन्छ । यी सबै कुरा परीक्षण गरेपछि हामीले चाडै नै मोवाइल–पे सुरुवात गर्नेर्छौं ।

अहिले नेपाल टेलिकमका ग्राहकहरूबाट के कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
ग्राहकहरूलाई म सबैभन्दा त कोरोना परास्त गर्न जुट्नुस् भन्न चाहान्छु । अहिले हामी सबै मिलेर कोरोना निर्मुल पार्न नै लाग्नुपर्छ । सकेसम्म कोरोना फैलन नदिने । कोरोना फैलिहालेको खण्डमा यसलाई परास्त गर्न, नियन्त्रण गर्न ध्यान दिने हो । त्यही हिसाबले नेपाल टेलिकमले समेत मोवाईलबाट सन्देशसमेत प्रवाह गरिरहेको छ । नागरिकलाई कोरोना महामारीको बेलामा इन्टरनेटका सस्ता प्याकेजका सुविधासमेत उपलब्ध गराएका छौं । ती प्याकेजहरूको प्रयोग गरेर अहिले लाभ उठाउने हो । स्वास्थ्य मन्त्रालयले पनि हामीलाई कोरोना महामारी रोकथामका लागि सन्देश दिन सहयोग गरि रहेको छ । सन्देश प्रवाह गर्न नेपाल टेलिकमको रिङब्याक टोन निकै प्रभावकारी भएको प्रतिक्रिया हामीले पाएका छौं ।

अहिले व्यवसाय गर्ने, कमाउने बेला होइन । जीवन जोगाउन अहिले हामी सबै लाग्नुपर्छ । साच्चै भन्दा त अहिले आफू जोगिने, आफ्नो समाज जोगाउने अनि राष्ट्र जोगाउने बेला पनि हो । यो त हरेक नागरिकको कर्तव्य पनि हो । अहिले विश्व नै समस्यामा छ । यस्तो अवस्थामा त सञ्चार सेवाको महत्व झनै बढ्दो रहेछ । अहिले अत्यावश्यक सेवाहरू चलिरहकै छन् । त्यस्तै, सञ्चार पनि आम नागरिकको अभिन्न अंग जस्तै बनेको छ । यसलाई हामीले चुस्त, दूरुस्त बनाउन सस्तो बनाउन नेपाल टेलिकमको प्राविधिक तथा अन्य कर्मचारीहरू ज्यानको बाजी थापेर आफ्नो कर्म मैदानमा खटिरहनुभएको छ । सञ्चार सेवा सरल र सहज बनाउन हामीले कोशिष गरिरहेका छौं । यसमा आम जनता र ग्राहकबाट जुन किसिमको सहयोग अहिलेसम्म प्राप्त भएको छ, उक्त सहयोगले आगामी दिनमा समेत निरन्तरता पाओस् भन्न चाहान्छु । 

Advertisement

Advertisement