पार्टीको वैधानिकतामाथि प्रश्न उठिरहेको बेला फेरि महाधिवेशन सार्ने काँग्रेसको तयारी

Advertisement

काठमाडौं । यसअघि नै संविधानले तोकेको समयभित्र महाधिवेशन गर्न नसकेको भन्दै पार्टीको वैधानिकतामाथि नै प्रश्न उठिरहेको बेला नेपाली काँग्रेसको १४औं महाधिवेशन सार्ने तयारी गरिएको छ । 

सो पार्टीका धेरै नेताले मंसिरमा तोकिएको महाधिवेशन सर्नसक्ने औंल्याउन थालेका छन् । काँग्रेसले गएको भदौ २१ गतेभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि उक्त मितिअघि वडा अधिवेशन सुरु गरेर त्यसैलाई महाधिवेशन सुरु भएको तर्क गर्दै आएको छ । 

Advertisement

सो पार्टीको प्रदेशस्तरीय सम्मेलनको मिति पछाडि धकेलिने अवस्था आएसँगै त्यसले महाधिवेशन पनि प्रभावित हुने देखिएको हो । यही बीचमा दशैंतिहार र छट पर्वसमेत रहेकाले विभिन्न तहका अधिवेशन गर्न कठिनाई हुने देखिएको छ । सोही आधारमा काँग्रेसले निर्वाचन कार्यतालिका संशोधन गर्नुपर्ने अवस्था देखिएको छ । 

दसैं अगाडि सबै वडा र पालिकास्तरीय अधिवेशन सक्ने लक्ष्य लिइए पनि दसैं र तिहारको बीचमा ५६ जिल्लाको अधिवेशन गर्ने कुरामा अन्योलता कायम छ । उक्त समय चाडपर्वको समय भएकाले छटपछि जिल्ला अधिवेशन गर्नुपर्ने काँग्रेस कार्यकर्ताले माग गर्दै आएका छन् । 

हालसम्म ६४ जिल्लामा वडा अधिवेशन र ५४ जिल्लामा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको काँग्रेसले दावी गरेको छ ।  अझै पनि कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेको र केही विकट जिल्लामा वडा तथा पालिकास्तरीय अधिवेशन गर्न नसकिएको अवस्थामा दशैं र तिहारको बीचमा गर्ने भनिएको जिल्ला अधिवेशन पनि प्रभावित हुने संभावना बढेको देखिन्छ । भएका अधिवेशनमा पनि संस्थापन पक्षले धाँधली गरेको आरोप संस्थापनइतर पक्षको छ ।

Advertisement

Advertisement