विप्रेषण आय अझै बढ्न सकेन्, भदौमा ६.३ प्रतिशतले गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह घट्ने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गरेको चालू आवको भदौसम्मको विवरणअनुसार गएको भदौंमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई रु. एक खर्ब ५५ अर्ब ३७ करोड रुपियाँ मात्रै भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई एक अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

Advertisement

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार ४९२ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

बढ्दो व्यापार घाटा तथा विप्रेषण आयमा भएको कमीका कारण शोधनान्तर स्थिति ८३ अर्ब रुपियाँभन्दा धेरैले ऋणात्मक हुन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा थियो । गत साउनसम्ममा शोधनान्तर स्थिति ३८ अर्बले ऋणात्मक रहेकोमा भदौमा दोब्बरले बढेको छ । 

समीक्षा अवधिमा चालु खाता एक खर्ब ६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।

Advertisement

Advertisement