धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा आईपीओ निष्काशनदेखि थुप्रै नीतिगत निर्णय अलपत्र

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वबिहीन हुँदा शेयर निष्काशनदेखि धेरै नीतिगत निर्णयहरु अलपत्र परेको छ । भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर अपचलनमा मुछिएर निष्काशन हुन परेसँगै बोर्ड दुई महिनादेखि नेतृत्वबिहीन छ । 

अध्यक्ष नहुँदा बोर्डका दैनिक रूपमा हुनुपर्ने सामान्य काम नरोकिए पनि नीतिगतरुपमा गर्नुपर्ने धेरै काम रोकिएको बोर्डका प्रवक्ता निराज गिरिले स्वीकार गरे । उनले भने, ‘अहिले दैनिक रूपमा हुनुपर्ने काममा त्यति धेरै असर परेको छैन् । पोलिसि लेभलको काम त अध्यक्ष नहुँदा प्रभावित हुने नै भयो ।’ 

Advertisement

गिरिले सेबोनमा अहिले पनि बोर्ड बैठक निरन्तर बसिरहेको बताए । उनले थपे, ‘अहिले पनि हाम्रो बोर्ड त बसिरहेकै छ ।  बोर्डले गर्नसक्ने काम गरिरहेकै छ । गर्न नसक्ने कामहरू पनि छन् । ती कामहरू चाहिं नयाँ अध्यक्षकै हातमा पुग्नेछ ।’

आईपीओ अलपत्र
बोर्डमा अध्यक्ष नहुँदा धेरै कम्पनीको साधारण शेयर (आईपीओ) निष्काशन अलपत्र परेको छ । केही समययता कुनै पनि कम्पनीको आईपीओ आउन सकेको छैन् । नियमितजसो आईपीओ भर्दै आएका लगानीकर्तालाई लामो समयदेखि कुनै पनि कम्पनीले आईपीओ जारी नगर्दा चासो बढेको छ । 

बोर्डले अध्यक्ष नभएकाले विभिन्न कम्पनीको आईपीओ निष्काशनलाई स्वीकृत गर्न ढिलाई भएको स्वीकार गरेको छ । कम्पनीहरुले रेटिङ पाएर अन्य सबै तयारी पूरा गरे पनि बोर्डको स्वीकृति बिना आईपीओ जारी गर्न मिल्दैन् । 

जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले भने, ‘अहिले धितोपत्र बोर्डमा अध्यक्ष हुनुहुन्न । त्यही भएर धेरै बीमा कम्पनीको आईपीओ आउन सकेको छैन् । हामी पनि प्रक्रियामा छौं । तर बोर्डमा पुगिसकेको छैन् ।’

प्रवक्ता गिरिले भने अहिले काम रोकिएकोभन्दा पनि सुस्त भएको तर्क गरे । 

रोकियो भेञ्चरको लाइसेन्स
धितोपत्र बोर्डले भेञ्चर क्यापिटलको लाइसेन्स वितरणदेखि म्युचुअल फण्ड निष्काशनको काम पनि प्रभावित भएको छ । बोर्डमा आईपुगेका भेञ्चर क्यापिटलको लाइसेन्सका काम प्रभावित भएका छन् । नियामक निकाय भएकाले धितोपत्र बोर्डमा अधिकांश निर्णय अध्यक्षकै हातबाट हुनेगर्छ । अहिले अध्यक्षबिना बोर्ड बैठक बसे पनि अध्यक्षकै पद रिक्त हुँदा बोर्डले महत्वपूर्ण निर्णय गर्न सक्दैन् । 

बोर्डमा नयाँ अध्यक्ष छनौटका लागि प्रक्रिया अघि बढेको छ । उक्त पदका लागि १२ जनाले आवेदन दिएका छन् । छनौट समितिका संयोजकसमेत रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल लामो समयसम्म विदेशमा हुँदा छनौट प्रक्रियामा ढिलाई भएको छ । 

Advertisement

Advertisement