जीवन बीमा अनि बोनसको रहस्य (सीईओ एलपी दासको विचार)

Advertisement

काठमाडौं । वर्तमान समयमा पनि धेरै जनाले बीमा के हो ? भन्ने नबुझेको देखिन्छ । त्यस्तै, बीमाले कसरी काम गर्छ ? भन्ने विषयमा धेरैमा अन्योलता सिर्जना हुने गर्छ । जीवन बीमामा बोनस दरको भूमिका निकै नै महत्वपूर्ण हुन्छ । त्यसैले पनि जीवन बीमाको बोनसको बारेमा धेरैलाई निकै उत्सुकता हुनेगर्छ । 

बोनस भनेको के हो ?
बोनसलाई साधारण रूपमा नाफा भनेर पनि बुझ्न सकिन्छ । जीवन बीमामा एक आर्थिक वर्षमा दुई किसिमले बोनस दर निर्धारण हुनेगर्छ । एउटा भनेको पोलिसि होल्डरले पाउने बोनस हो भने अर्को भनेको शेयरधनीले पाउने बोनस हो । पोलिसि होल्डरले पाउने बोनस बीमितले बुझाएको प्रिमियमको अनुपातमा प्रति हजार एक रूपियाँको दरले निर्धारण हुन्छ । तर, शेयरधनीले पाउने बोनस भनेको सय बराबर एकका दरले निर्धारण हुन्छ । पोलिसि होल्डरले लिएको पोलिसि जति बेला नाफामा जान्छ, त्यति बेला मात्रै पोलिसि होल्डर बोनसका लागि योग्य मानिन्छन् । 

Advertisement

यसरी हुन्छ बोनस दरको निर्धारण
प्रत्येक आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरूले आफ्नो लेखापरीक्षण गराउनुपर्छ । उक्त लेखापरीक्षणले कम्पनीको सल्भेन्सि मार्जिन र बोनसको अवस्था कस्तो छ ? भन्ने पत्ता लगाउँछ । लेखापरीक्षण बीमांकीले मात्रै गर्न सक्छन् । बीमांकीले जीवन बीमा कम्पनीको रिर्जभको वास्तविकता आँकलन गरेर बोनस निर्धारण गर्छन् । सरप्लसको ९० प्रतिशत रकम पोलिसि होल्डरको बोनसमा जान्छ भने १० प्रतिशत रकम सेयर होल्डरको बोनसमा जानेगर्छ ।

पोलिसि होल्डरको बोनस दर कसरी घटबढ हुन्छ ?
पोलिसि होल्डरको बोनसलाई आन्तरिक र बाह्य प्रभाव पर्ने गर्छ । नियामकीय निर्देशन तथा आर्थिक वृद्धिको असर बाह्य प्रभाव हुन । तर, जारी बीमालेख, बीमाशुल्क आर्जन, सल्भेन्सी, ल्याप्सेस, सरेण्डरले भने बोनस दरलाई प्रत्यक्ष प्रभाव पार्छ ।

अहिले किन घट्दैछ पोलिसि होल्डर बोनस ?
अहिले पोलिसि होल्डरले पाउने बोनस दर घट्ने अवस्थामा पुगिसकेको छ । त्यसको कारण भनेको नियामकले तयार पारेको वातावरण तथा देशको आर्थिक अवस्थाले गर्दा हो ।

अहिले पाँच वर्षको लागि बीमा कम्पनीले आफ्नो फ्युचर बोनस प्रोभिजनिङ गर्नुपर्ने भएकाले त्यसको असर सिधै बोनसमा देखिएको हो । त्यस्तै, कोरोना महामारीले पनि स्वदेशी तथा विदेशी बीमा बजारमा ठूलो असर पारी रहेको छ । सोही कारण पनि बीमाको बोनस दर घटबढ हुने अवस्थामा पुगेको हो । 

बीमा कम्पनीको नयाँ व्यवसायमा महामारीले धक्का पुर्याउँदै सरप्ल्समा समेत ठूलो प्रभाव पारेको अवस्था छ । सरप्ल्समा नै असर परेकाले अहिले जीवन बीमा कम्पनीको बोनस दर घट्ने अवस्थामा पुगेको हो । त्यस्तै, बैंकको व्याजदरमा हुने घटबढले पनि बीमा कम्पनीको आम्दानीदेखि बोनस दरमा समेत प्रभाव पार्छ ।

सरेण्डरको अनुपात र बीमितको मृत्युदर बढ्दा त्यसले जीवन बीमामा ठूलो हलचल ल्याउँछ । पोलिसिको बारेमा चाहिने ज्ञान नहुँदा पनि बीमितले धमाधम सरेण्डर गरेको देखिन्छ । सरेण्डर गर्नुको अर्को कारण भनेको बीमा प्रिमियम महङ्गो भयो भन्ने पनि हो । 

के बोनस दरकै आधारमा कम्पनी उत्कृष्ट हुन्छन् त ?
बोनसलाई कम्पनीको जोखिम र प्रोडक्ट कस्तो छ भनेर बुझ्ने एउटा महत्वपूर्ण मापदण्डको रूपमा दिन सकिन्छ । यसले बीमा कम्पनी आफै कति जोखिममा छ भन्ने बुझ्न मद्दत गर्छ । 

बोनसले कम्पनीको सल्भेन्सी मार्जिन कति रहेको छ ? भन्ने जानकारी दिन्छ । एउटा स्वस्थ कम्पनीको सल्भेन्सि मार्जिन भनेको एक दशमलव पाँचको अनुपातमा हुनुपर्छ । बीमा कम्पनीले आर्जन गर्ने प्रथम प्रिमियमको आधारका कम्पनीले गरेको नयाँ व्यवसायको अवस्था थाहा पाउन सकिन्छ । त्यस्तै, बीमा कम्पनीका अधिकांश सिंगल प्रिमियम पोलिसि रहेमा त्यसलाई भने त्यति धेरै सकारात्मक मानिदैन ।

बीमा भनेको लामो समयको लागि गरिने सम्झौता हो । त्यसैले छोटो अवधिमा नै बीमा कम्पनीको बोनस कस्तो छ ? भनेर मूल्यांकन गर्नु सही हुँदैन । बीमा र बीमितको सम्बन्ध धेरै वर्षका लागि हुने भएकाले एक वर्षकै अवस्थालाई आधार बनाउनु हुँदैन । 

के बोनस घट्नु सामान्य कुरा हो ?
अहिले कोरोना महामारीमा नियामकीय निर्देशनले नै बोनसमा ठाडै प्रभाव पारेको अवस्था छ । एलआईसी इण्डियाले भारतको ७० प्रतिशत जनसंख्याको जोखिम बहन गरेको छ । भारतमा एक दशक यताकै सबैभन्दा उच्च दरले बोनस घटिरहेको छ । ७८ रूपियाँमा बोनस दिएरहेका भारतीय बीमा कम्पनीको बोनस ४४ रूपियाँमा सिमित भएको छ । त्यसले कुनै पनि बीमा कम्पनीको बोनस दर घटबढ हुनु आफैमा त्यति नौलो कुरा भने होइन ।

लेखक एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

Advertisement

Advertisement