यो महिनापछि बैंकहरुको ब्याज दर बृद्धि हुन्छ, शेयर बजारमा लगानी गर्दा विचार गर्नूः गभर्नर

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिँर्दै गभर्नर अधिकारीले अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपियाँ कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रै भएकाले वित्तीय प्रणालीमा तरलतामा चाप परेको बताए । 

Advertisement

उनले अहिले पनि वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको बताए । पछिल्लो समय  ५० प्रतिशत कर्जा आयातमा मात्रै बाहिर जाँदा तरलता थप अभाव भएको बताए । 

चालु आर्थिक वर्षको चार महिनामा मात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि मात्रै २३ खर्ब ८६ अर्ब रुपियाँ रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको अधिकारीले बताए । उनले राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर निरुत्साहित गर्ने नीति बनाउने बताए । 

अधिकारीले आयातलाइ निरुत्साहित गर्ने विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघसँग छलफल भइरहेको बताए । उनले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताए । 

त्यस्तै, मंसिर महिनापछि बैंकहरुको वेस रेट ब्याज दर बृद्धि हुनसक्ने गभर्नर अधिकारीले बताए । उनले भने, ‘चालु आर्थिक वर्ष लागेसँगै बजारमा तरलताको चाप रहेको छ । कोरोना महामारीको पहिलो लकडाउनको समयमा बजारमा अधिक तरलता भएर कतै लगानी हुन सकेको थिएन । तर, असार महिनापछि बैंकहरुमा कर्जाको अत्याधिक माग बढेकाले बजारमा तरलता चाप परेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि विभिन्न माध्यमबाट  सहजता बनाएको छ । अहिले पनि राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि २५ अर्ब रुपियाँको व्यवस्थापन गरेको छ । कर्जाको माग धेरै र आयात बढेका कारण तरलतामा समस्या आएको हो । अहिले बैंकहरुमा कर्जाको बेसरेट ९ प्रतिशत रहेको छ । त्यस्तै अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने योजना रहेको छ ।’

गभर्नर अधिकारीले शेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयर बजारमा लगानी ओइरिएकाले बजार उच्च बिन्दुमा पुगेको बताए । अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको बताए । शेयर बजारलाई नियमन गर्न राष्ट्र बैंकले सेबोनलाई सल्लाह दिएको पनि बताए । 

Advertisement

Advertisement